‘भाषा बिगार्दा आमालाई लात्ताले हिर्काएजस्तो भएको छ’
*जोतारे धाइबा
चावहिल सरस्वतीनगरस्थित निवासमा पुग्दा डा. तारानाथ शर्मा नेपाली भाषामा पछिल्लो समय आक्रमणमा परेका शब्द र अक्षरहरुको टिपोट गरिरहेका भेटिए ।
पछिल्लो समय भाषामा तोडमोड गरिँदा एक भाषा मर्मज्ञको मनमा के खेलिरहेको होला भनेर सोध्दा उनले खिन्नता र झोंक मिसिएको भावमा भने, ‘म चुपचाप बसेको छुइनँ, सबै हेरिरहेको छु । अहिले भाषा बिगार्नेहरुले भयंकर बिगारे । यिनीहरुलाई बिगार्ने नै भन्छु म !’
भाषा बिगार्न निर्णय गर्नेलाई उनी भाषाविद् मान्न तयार भएनन् । थपे, ‘भाषा नजान्ने मान्छेलाई पनि भाषाविद् भन्छन् कहीँ ? भाषा जान्ने मान्छेले त आफ्नो इतिहास पनि हेर्नुपर्छ । विदेशी दलाल भएर तिनीहरुको वर्णमालामा हाम्रो भाषालाई ढालेर भाषा बन्छ ?’
एक समय नेपाली भाषा शुद्ध हुनुपर्छ भनेर लागेका झर्रोवादी आन्दोलनका एक अगुवा हुन् डा. शर्मा । त्यतिमात्र होइन, निबन्ध, कथा, समालोचनामा उत्तिकै दक्षतासाथ कलम चलाउने उनले कुनै समय नेपाली पाठ्यपुस्तकसमेत लेखेका थिए ।
शर्मालाई सोधियो-भाषालाई यसरी बिगारेको देख्दा चित्त कत्तिको कुँढिएको छ ?
‘मेरी आमालाई कसैले लात्ताले हिर्कायो भने कस्तो लाग्छ ? त्यस्तै भएको छ,’ भाषालाई अचाक्ली माया गर्ने मन खोले उनले, जुन यो समय निकै आहत भएको रहेछ ।
लामो हिज्जे परम्परामा रहेका विद्या, बुद्ध, भक्त जस्ता संयुक्त वर्ण अहिले खुट्टा काटेर लेखेको देख्दा उनको मन निकै पिरोलिएको छ । अनि कतिपय वर्णहरु (ञ, ण, श, ष, व) अनावश्यक भन्दै हटाइँदा र एउटै डिकोमा लेखिँदै आएका समास शब्द (विराटनगर, लक्ष्मीप्रसाद) लाई छुट्याएको पढ्दा सकसक लाग्दोरहेछ ।
दार्जीलिङदेखि बनारससम्म
भाषालाई आमासमान मान्ने शर्माको रुचि र चाख अहिलेको होइन, विद्यार्थीकालदेखि नै उस्तै छ ।
इलाम बरबोटेबाट भारतको दार्जीलिङ पुगेका शर्माले नौ कक्षादेखि आईएसम्म त्यहीँ पढे । दार्जिलिङ बसाइका क्रममा उनको सरसंगत पारसमणि प्रधान, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, शिवकुमार राई, रुपनारायण सिंह जस्ता भाषा-साहित्यसेवीहरुसँग भयो । त्यो संगतबाट उनले शुद्ध नेपाली सिके । नेपाली भाषा शुद्ध बनाउनुपर्छ भनेर लागे । ‘गाउँघरका मान्छेहरुले कस्तो बोल्छन्, म त्यही लेख्थेँ । अंग्रेजी र हिन्दीका अप्ठेरा शब्द लेख्दिनथेँ । आफैं खोजेर नेपालीपनमा जोड दिन्थेँ,’ उनले सुनाए ।
दार्जिलिङबाट उनी ०१३ सालतिर भारतकै बनारस पुगे, बीए पढ्न । त्यहाँ धेरै नेपालीहरु पनि हुन्छन् र पढाइ राम्रो हुन्छ भनेपछि बनारस युनिभर्सिटीमा भर्ना भए । त्यहाँ उनको भेट बालकृष्ण पोखरेलसँग भयो । बिराटनगरका पोखरेल पनि त्यहीँ पढ्न आएका रहेछन् । नेपाली भाषाको शुद्धताबारे दुबैको रुची मिल्यो ।
शर्मा सम्झिन्छन् – ‘बालकृष्ण पनि मजस्तै शुद्ध नेपालीका पक्षमा रहेछन् । तर, यसलाई शुद्ध नेपाली नभनी झर्रो नेपाली भनौं भन्ने कुरा गरे उनले । थापा, बस्नेत, कटुवाल इत्यादि झर्रा अर्थात् चोखा क्षेत्री भएजस्तै नेपालीलाई पनि झर्रो भनौं भन्ने उनको कुरा थियो । त्यो मलाई साह्रै मन पर्यो ।’
त्यहीबेला कोषराज रेग्मी र उनका भाइ चूडामणि रेग्मी पैसा उठाएर पत्रिका निकाल्ने तयारीमा रहेछन् । तिनीहरु पनि बनारस युनिभर्सिटीमा अंग्रेजी पढ्थे । वल्लभमणि दाहाल र शर्माका दाजु पर्ने गणेशप्रसाद भण्डारी पनि त्यहीँ थिए । उनीहरु सबै मिलेर पत्रिका निकाल्न कम्मर कसे । पत्रिकाको नाम ‘नयाँ कदम’ राख्दा हिन्दीको गन्ध आउँछ भनेर ‘नौलो पाइलो’ राखे ।
बीएपछि बालकृष्ण भाषा विज्ञानमा र तारानाथ अंग्रेजीमा एमए गर्न कोलकाता, पटना पुगे । उनीहरु गएपछि पनि कोषराज रेग्मीहरुले केही समय पत्रिका चलाए । शर्मा भन्छन् – ‘कोषराज बिराटनगर फर्केपछि जनवार्ता र चूडामणिले भद्रपुरमा जूही भन्ने पत्रिका निकालेर झर्रा शब्दहरु चलाइ नै रहे । बालकृष्ण र मैले काठमाडौं पुगेपछि झर्रो आन्दोलनलाई झन् अगाडि बढायौं ।’
झर्रोवादले नेपाली भाषाको माउ भाषा संस्कृत भएकाले त्यसका वैयाकरणकार पाणिनिले सिकाएअनुसार चल्नुपर्छ भन्नेमा जोड दिएको थियो । जसको उद्देश्य थियो, भरिसक्य नेपालका सबै जातजातिले बुझ्ने र उच्चारण गर्न सजिलो हुने साझा भाषा बनाउने । पाणिनीको ‘सिद्धान्त कौमुदी’ असाध्यै वैज्ञानिक र पवित्र भएको उनले पटकपटक जोड दिइरहे ।
अंग्रेजीमा भाषा विज्ञानमा विद्यावारिधि गरेका ८२ वर्षे शर्मा दोहोर्याइरहन्छन्, ‘संस्कृत हाम्रो हजुरआमा भाषा हो । नेपाली भाषा संस्कृतबाट आएको भन्ने कुरा कहिल्यै बिर्सनु हुँदैन । पाणिनिको व्याकरणले सिकाएको भन्दा अरुतिर जान खोज्यौं भने हामी लर्बरिन्छौं, बिग्रिन्छौं ।’
तर, अहिले मूल मर्ममै प्रहार गर्ने गरी नेपाली भाषाको वर्णविन्यास भत्काइँदा उनी टुलुटुलु हेर्न बाध्य छन् । झोँक्किन्छन् – ‘अहिले भाषालाई जोगाउन केही गरौं भने हाम्रो अधीनमा केही छैन । हाम्रो अधीनमा भए पो हामी सोच्थ्यौं त ! हाम्रो अधीनमा भए त नेपालीकरण गर भन्छौं नि ! हाम्रो साझा भाषा नेपाली हो, नेपालीलाई सबैले बुझ्ने भाषा बनाऊ ।’
अहिले भाषालाई चलाउनेहरु विद्वान् नभएको उनी ठोकुवा गर्छन् । ‘तिनीहरु त्यसै विद्वान् भएका छन् । अलि दिन नेपाली पढाए, अनि त ए हामी विद्वान् भयौं, भाषाविद् भयौं भन्नतिर लागे । त्यसरी हुँदैन नि ! भाषामा मनलाग्दी गर्नेहरू पनि कहीँ विद्वान् हुन्छन् ?,’ उनले झपार्ने लवजमा भने ।
केही नजान्ने मूर्खहरुले शासन चलाउँदा देश बिग्रिएजस्तै भाषामा पनि बढ्ता जान्ने हुनेहरुले विकृति ल्याएको उनले औंल्याए । यति भनिरहँदा उनले के सम्झिए कुन्नि, जिभ्रो टोके । र, पल्लो कोठातिर चियाउँदै मसिनो स्वरमा भने – श्रीमतीले कसैलाई गाली नगर्नू भनेकी छन्, सबैलाई बराबरी गर्नू रे !
भाउजूसँग डराउँदै ‘भाषाविद’ माथि प्रहार
नेपाली भाषाजस्तै हिन्दी पनि संस्कृतले जन्माएको भाषा हो । तर, शर्मा नेपाली भाषालाई संस्कृतकी पवित्र छोरी मान्छन् । किनकि हिन्दी भाषामा उर्दू, अरबीलगायत अन्य मिसिएर त्यसको संस्कृतपना हटेको छ । नेपालीमा भने त्यस्तो धेरै अचाक्ली छैन । संस्कृतले सिकाएकै बाटोमा हिँडिरहेको छ ।
तर, हिन्दी भाषाको प्रचार र प्रभाव बढेर नेपालमा पनि हिन्दीकै चलनचल्ती बढी देख्न थालेका छन् शर्माले । पत्रिका, रेडियो, टीभी जता पनि हिन्दी शब्द नचलाएको ठावैं देख्दैनन् । चिन्ता गर्छन्, ‘हिन्दीले गर्दा हाम्रो भाषा खाएको छ ।’ ठूलो देश भएकाले हिन्दीको प्रचार हुनु स्वाभाविक भए पनि हामीले आफ्नो भाषाको मौलिकता जोगाउन ध्यान दिनुपर्ने उनी सुझाउँछन् ।
पछिल्लो समय भने वर्णहरु मिसिएर बनेको संयुक्ताक्षरलाई अंग्रेजी पाराले लेख्न थालेको देख्दा उनी बढ्तै झोंक्किएका छन् । क्र, कृ, क्व, क्ष, द्य, द्ध जस्ता संयुक्त अक्षरलाई हलन्त गरेर लेख्दा हामीले चलाउँदै आएको संस्कृतको नियम मिचिने उनको चिन्ता छ ।
अंग्रेजीबाट प्रभावित भएर अहिले संयुक्त अक्षरलाई हलन्त दिएर जथाभावी टुक्र्याउन थालिएको उनलाई लाग्छ । भन्छन्, ‘अंग्रेजीमा जस्तो अक्षरहरु एक-एक गरेर जोड्दा पो सजिलो हुन्छ भन्न थालेका छन् । हामीले उनीहरुले जस्तो गरेर हुँदैन, संयुक्ताक्षर गर्नैपर्छ । ऐ, औ छोडेर अब हामीले अइ र अउ लेख्ने ? संयुक्ताक्षर सिक्न अप्ठेरो भो, त्यसैले हलन्त गर्नुपर्छ भन्ने हो ? अलिकता सिक्नुपर्छ त ! नसिकी त्यसै आउँछ ?’
परिमार्जित नियम भन्दै भाषालाई जथाभावी चलाउँदा यसले विद्यार्थीलाई झन् बराल्ने र हाम्रो भाषालाई पनि थप बिगार्ने खतरा उनले देखेका छन् । यस्तो अवस्थामा भाषाको मौलिक परम्परा कायम राख्न झर्रोवाद झनै सान्दर्भिक भएको उनको ठहर छ । झर्रोवादलाई झन् अगाडि बढाएर नेपाली शुद्ध पार्नतिर जुट्नुपर्ने आवश्यक ठानेका छन् ।
तपाईंहरुले मौलिक स्वरूप जोगाउनुपर्छ भनिरहँदा छँदाखाँदाको ञ, ण वर्ण नचाहिने भनेर मास्ने काम भइसक्यो नि !
यो प्रश्नमा उनले उल्टै प्रतिप्रश्न गरे, ‘हामीले ‘पुराण’, ‘कृपण’ भन्नु पर्दैन ? संस्कृत शब्द लेख्नुपर्दैैन ? विवरणलाई विवरन लेख्ने ? गनित लेख्ने ? हावा कुरा नगरौं न । हाम्रो उच्चारण अनुसार हिज्जे छ जम्मै । सबै उच्चारणका अक्षरहरु राख्नुपर्छ । तिनीहरुलाई हटाएर सरल पार्नु भनेको भाषा बिगार्नु हो ।’
संस्कृतको नभई आगन्तुक शब्द भएकाले पहिलेको शहीद अहिले सहिद लेख्दा हुने उनले सुझाए । तर, फूल र फुल नछुट्याई ह्रस्व लेख्ने नियम ल्याएको उनलाई कत्ति पनि चित्त बुझेको छैन । भने, ‘उसले फुल ल्यायो भन्दा के ल्यायो ? अण्डा कि पुष्प, कसरी बुझ्नु ? भेदचाहिँ नछुट्याउने अनि शुद्ध गर्ने भन्दै जे पायो त्यही लेख्ने ?’
हिज्जेको परिमार्जित नियम पाठ्यक्रम विकास केन्द्रले विद्यालयको पाठ्यक्रममा लागू गरिसक्यो नि भनेर सुनाउँदा यसमा उनले खासै अचम्म मानेनन् ।
‘पाठ्यक्रम विकास केन्द्रमा राम्रो मान्छे कहाँ छन् र ! देशमा प्रधानमन्त्री त राम्रो छैन भने पाठ्यक्रममा कहाँ राम्रो हुन्छ ? त्यसको कुरै नगरौं । केही जानेका छैनन् तिनीहरुले । ती फटाहा हुन् ।’
फेरि सम्झिए, श्रीमतीले कसैलाई नराम्रो नभन्नू भन्या थियो, मैले भनिहालेँ ।
नयाँ नियममा पदवियोगमा पनि गल्ती देख्छन् उनी । पाणिनिले ‘पृथकार्था नाम एकार्थी भाव समास’ भने झैं पृथक्-पृथक् अर्थ दुई वा सोभन्दा बढी शब्द एक ठाउँ राखेपछि एउटा अर्थ जनाउँछन् भने समास हुन्छ र त्यो सँगै लेख्नुपर्छ भनेका छन् । त्यही नियम पछ्याउनुपर्ने उनी बताउँछन् ।
यसमा उनले उदाहरण नै दिए, ‘एकजना मावली दाजु हुनुहुन्थ्यो देवीप्रसाद भन्ने । देवी प्रसाद खानुहुन्छ भन्दा के अर्थ आउँछ ? देवीचाहिँ प्रसाद खानुहुन्छ । अब देवीप्रसाद खानुहुन्छ भन्दा के भो ? अर्को अर्थ आएन ? त्यसैले एकै ठाउँ राख्नुपर्छ कि पर्दैन भन्ने त्यहीँबाट बुझिहालिन्छ नि !’
नेपाली भाषा सरल पार्ने नाममा उच्चारण अनुसार हिज्जे लेख्ने नियम ल्याइएको छ । यसमा शर्मा पनि हिज्जे र उच्चारणबीच साह्रै राम्रो मेल हुनुपर्ने मान्छन् । तर, उच्चारण अनुसार हिज्जे कुनै भाषामा पनि नहुने उनी बताउँछन् । उनले भने, ‘भाषाका उच्चारण (कथ्य) र लेखन (लेख्य) दुई कुरामध्ये उच्चारणमा व्याकरण र लेखनमा हिज्जेको कुरा आउँछ । हिज्जे अनुसार उच्चारण हुनुपर्छ । उच्चारण अनुसार हिज्जे गरेर पनि साध्य हुन्छ ? अंग्रेजीलाई त्यस्तो गरे भने के हुन्छ ? कसैले सोच्छ त्यस्तो ?’
शर्मालाई लाग्छ, अहिले विद्वान् भएर देखिनेहरू एक नम्बरका पैसावाज हुँदा भाषाको दुर्गति भएको हो । आफ्ना विद्वान् साथीहरु पहिला त क्या बुझ्ने भए पनि अहिले ठ्याम्मै नबुझ्ने भएकोमा उदेक लाग्छ उनलाई । शंका गर्छन्, कता कता लागे, कसैले पैसा दियो कि ? क्रिश्चियनहरु आएर हाम्रो भाषा र धर्म बिगार्नेमा सक्रिय भएको देख्दा चिन्ता अझ चुलिएको छ ।
भाषाको कुरा गर्नेहरूबाट थरीथरी कुरा आउँदा मानक नेपाली भाषा कसरी बन्ला त ?
अंग्रेजीको दासत्वबाट छुटाएर हिन्दीलाई पछ्याउन छाडेपछि अहिलेको नेपाली भाषा नै मानक हुने उनलाई लाग्छ । त्यसका लागि अहिले विद्वान् भएर देखा पर्नेहरूलाई पनि नेपालीलाई माया गर, राष्ट्रवादी होऊ भनेर बुझाउन जरुरी देख्छन् ।
अब त थाकें, ५ लाख ७५ हजार लेखिएछ !
झर्रो आन्दोलनमा लागेका सहयात्रीहरुले एक-एक गरी चोला छोड्दै जाँदा तारानाथ पछिल्लो समय आफूलाई एक्लो महसुस गरिरहेका छन् । कोषराज, वल्लभमणि, गणेशप्रसाद बितिसके । चूडामणिले जूही पत्रिका चलाइरहे पनि खासै प्रभावकारी हुन सकेको छैन । उता बिराटनगरमा बस्दै आएका बालकृष्ण उमेरको शिखरमा पुगेर लेख्न र बोल्न नसक्ने गरी गलेका छन् ।
उनी पनि भन्छन्, अब त थाकेँ ! कसले के-के भाँडभैलो गर्छन्, उनीहरुकै पछि लागेर के हिँड्नु ! शर्मा हिसाब नै निकाल्छन्, अहिलेसम्म पाँच लाख ७५ हजार ६ सय ६२ वटा लेखोट लेखेछु । जम्मै नोटहरु भरिभरि छ ।
तर, जति लेखे पनि मान्छेहरुले वास्ता नगरेको र नपढेको देख्दा खिन्न बन्छन् । ब्लडप्रेसर र सुगरले च्यापेको वयोवृद्ध उमेरमा पनि उनले भाषाको माया भने छाडेका छैनन् । हक्की स्वरमा भन्छन्, ‘हाम्रो साझा भाषा नेपाली हो । आफ्नो भाषा शुद्ध पारेर सबैले बुझ्ने बनाऔं ।’
onlinekhabar.com बाट साभार
No comments:
Post a Comment