‘शुक्रराज शास्त्रीको चस्मा’माथि पोखरामा विमर्श - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, September 10, 2016

‘शुक्रराज शास्त्रीको चस्मा’माथि पोखरामा विमर्श


‘शुक्रराज शास्त्रीको चस्मा’माथि पोखरामा विमर्श

पोखरा, भदौ २५ गते । 

कथाकार राजेन्द्र पराजुलीको कथा सङ्ग्रह ‘शुक्रराज शास्त्रीको चस्मा’माथि पोखरामा शनिबार विमर्श गरिएको छ ।
र्‍यान्डम रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो मासिक पुस्तक विमर्शको ६७ औँ शृङ्खलामा पराजुलीको कथा सङ्ग्रहमाथि बहस गर्ने चाँजो मिलाएको  हो । कृतिको चर्चा गर्दै युवा समालोचक राजिन पनेरुले शुक्रराज शास्त्रीको चस्मा प्रेम, राजनीति र पत्रकारिताका क्षेत्रमा देखिएका विभिन्न विषयवस्तुहरुमाथिको ‘डिस्कोर्स’ समावेश गरिएको बताउनुभयो । ‘राजनीति, पत्रकारिता र प्रेमका अतिरिक्त सङ्ग्रहमा वर्तमान सहरिया समाजमा बढ्दै गइरहेको संवेदनहीनतालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ’ पनेरुले भन्नुभयो, ‘नेपालको वामपन्थी राजनीतिमा देखिएको स्खलनको त उछितो नै कृतिमा काढिएको छ ।’ लोकतान्त्रिक नेपालको जीवन शैलीलाई राम्ररी चित्रण गरिएको कृतिमा समावेश गरिएका कथाहरु जुनसुकै वर्गका पाठकले बुझ्ने र गम्भीर भएर सोच्न पार्ने हुनु नै कृतिको मूल शक्ति भएको दाबी समालोचक पनेरुको थियो ।

कथाकार पराजुलीले नेपाली साहित्यमा युवा पुस्ताले साहित्य पढिदिएनन् भनेर दुखेसो गर्ने तर तिनका रुचिलाई समेट्ने गरी लेख्न भने ध्यान नदिइएको बताउनुभयो । राजनीतिलाई विषयवस्तु मात्र नभई विचारकै रुपमा कथामा प्रस्तुत गरेको भन्ने पाठकको प्रतिकृया जवाफमा उहाँले भन्नुभयो, ‘म राजनीतिक विकृतिलाई कथाकै माध्यमबाट झापड हान्छु । राजनीति, सामाजिक विकृति र किनारीकृत समुदायको सवाल नै मेरो कथाका मूल टेको हुन् ।’ कथा लेखनमा स्पष्ट भएको बताउँदै पराजुलीले आफूले कुनै पनि राजनीतिक विचारको पृष्ठपोषण गरेको नभई तिनमा व्याप्त विकृतिको पर्दाफास गरेको बताउनुभयो । २० ओटा कथा समेटिएका कृतिको छिटै दोस्रो संस्करण प्रकाशनको तयारी भएको जानकारी दिँदै आवश्यक परिमार्जन गर्ने प्रतिबद्धता पराजुलीले व्यक्त गर्नुभयो ।
सोसाइटी तथा कार्यक्रम अध्यक्ष उपेन्द्र पौडेलले सोसाइटीले विमर्शलाई आम पाठकसमक्ष उठान गर्दै आएको बताउनुभयो । उहाँले पाठक र लेखकलाई प्रत्यक्ष भेट गराउने एउटा माध्यमका रुपमा सोसाइटीले भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । सोसाइटीका सचिव रुपिन्द्र प्रभावीको सञ्चालन र उपाध्यक्ष केशवशरण लामिछानेको स्वागतमा भएको कार्यक्रम अर्जुन ढकाल, भीम रानभाट, मोती भुजेल, नेपालप्रकाश अधिकारीलगायतका पाठकहरुले टिप्पणी गर्नुभएको थियो ।

No comments:

Post a Comment