भाषा भ्रष्टीकरण : सभ्यतामाथि प्रहार - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, September 23, 2016

भाषा भ्रष्टीकरण : सभ्यतामाथि प्रहार

भाषा भ्रष्टीकरण  : सभ्यतामाथि प्रहार

-घनेन्द्र अाेझा
अहिले नेपाली भाषा, विशेषगरी यस भाषाको वर्णविन्यासको विषय विवाद र चर्चाको शिखरमा छ । झन्डै एक दशकयता केही विद्वान् प्रा. डा. हरूको सल्लाह, सुझाव र सक्रियतामा प्रचलित नेपाली भाषाको वर्णविन्यासमा ‘सरलता’, ‘सहजता’ तथा
‘एकरूपता’ ल्याउनका लागि तथा प्रचलित वर्णविन्यासलाई ‘सुधार’ गरी ‘सुबोध्य’ बनाउनका लागि नयाँ वर्णविन्यासको प्रयोग, विशेष गरी विद्यालयीय पाठ्यक्रममा समावेश गरी लागू गरिसकिएको छ । शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रलगायतले पनि यसलाई लागू गर्न निर्देशन जारी गरिसकेपछि विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा रहेका पुस्तकमा ‘सुधारिएको वर्णविन्यास’ प्रयोग नगरी सुखै भएन । तर, यहींनेर अर्को नौटंकी छ, सरकारी विद्यालयका पाठ्यपुस्तकमा परम्परागत वर्णविन्यासको प्रयोग छ, निजीका पुस्तकमा नयाँ वर्णविन्यास ।
यही विषय अहिले बाहिर आएको छ र सबैमा नयाँ वा ‘सुधारिएको’ वर्णविन्यास प्रयोगका निम्ति जबर्जस्त दबाब सृजना गरिएको छ, जसका कारण विवाद सतहमा आएको हो । यसलाई थप बल दिएको छ, भाषा, साहित्यको संरक्षण, संवद्र्धन गर्ने ठेक्का लिएको निकाय नेपाल प्रज्ञाप्रतिष्ठानले । प्रतिष्ठानले २०७२ मा प्रकाशन गरेको ‘नेपाली बृहत् शब्दकोश’मा नयाँ वर्णविन्यासलाई प्रयोग गरेपछि अझ यो बहस चुलिएको हो ।
जसले नेपाली भाषाको हुर्मत लिनका निम्ति महŒवपूर्ण अगुवाइ गरे, तिनैलाई सो शब्दकोश निर्माणका क्रममा महŒवपूर्ण जिम्मेवारी दिइनु पनि प्रतिष्ठानमाथिको शंकाको कारक बनेको छ । अर्को रमाइलो तथ्य– जसले सो शब्दकोश निर्माणको जिम्मेवारी पाए, तिनले त्यसअघि प्रकाशन गरेको शब्दकोशभन्दा २ सय ३३ भन्दा कम पृष्ठमा र उच्चारणसमेत नराखी प्रतिष्ठानबाट आफ्नोभन्दा कम गुणस्तरमा शब्दकोश छपाए र नामचाहिँ राखिदिए ‘नेपाली बृहत् शब्दकोश ।’ योभन्दा नौटंकी, उपहास वा लज्जास्पद कार्य के हुन सक्छ ?
भाषाका रूप
भाषा हरेक प्राणीको पहिचान हो । हरेक प्राणीले कुराकानी वा सञ्चार गर्न अथवा आफ्ना सन्देश, सूचना एकअर्कामा सम्प्रेषण गर्न भाषाको प्रयोग गर्ने गर्दछन् तर प्राणीपिच्छे यस्तो भाषा फरकफरक हुने गर्छ । सामान्यतया मानिसले बोलेर वा लेखेर वा संकेतको प्रयोग गरेर सन्देश आदानप्रदान गर्दछ र सन्देश प्रवाहका निम्ति सबैभन्दा उपयुक्त माध्यम भाषा हो, त्यसमा पनि लिखित वा मौखिक भाषा बढी सम्प्रेष्य वा प्रभावकारी मानिन्छ । लिखित भाषा भाषाको विशिष्ट रूप हो, जसलाई लेख्य पनि भनिन्छ भने मौखिक भाषा सामान्य भाषाको रूप हो, यसलाई कथ्य भनिन्छ । लेख्य भाषा र कथ्य भाषा प्रयोगका हिसाबले निकै भिन्न हुने गर्छन् । बोल्दा वा कथ्यमा जे भनिन्छ, लेख्दा वा लेख्य रूपमा त्यही लेखिँदैन । तर, अपवादका रूपमा कथ्य भाषा प्रयोग भने भइराखेकै छ, नाटक, उपन्यास, कथा वा साहत्यिका अन्यान्य विधामा, जहाँ पात्र र परिवेशको जीवन्तता अपेक्षित हुन्छ । यसलाई ‘अनौपचारिक भाषा’ भनिन्छ । तर, औपचारिक प्रयोजनका निम्ति कथ्य भाषा प्रयोग हुन सक्दैन जस्तो कि सरकारी कामकाज र समाचार आदिमा ।
यसरी हेर्दा भाषाका विभिन्न रूप हुने रहेछन् । कथ्य–लेख्य, औपचारिक–अनौपचारिक । सामान्य रूपमा पनि हामी भन्दा वा कथ्य रूपमा ‘पानी खान्छौं’ तर लेख्दा वा औपचारिक प्रयोजनमा प्रस्तुत गर्दा पानी कहिल्यै खाँदैनौं हामी, हामी खासमा ‘पानी पिउँछौं ।’ हामी ढलानमा ‘सिमेन्टी’को प्रयोग गर्छौं बोल्दा, तर लेख्दा ‘सिमेन्ट’ नै प्रयोग गर्छौं, ढलानमा । हामी ‘तेल्लाई’ ठीक पार्छौं बोल्दा तर लेख्दा ‘त्यसलाई’ ठीक पारिदिन्छौं । यस्ता हजारौं उदाहरण छन्, जुन कथ्य र लेख्यमा फरक बुझाउन काफी छन् ।
कथ्य किन लेख्यमा प्रयोग हुन सक्दैन ?
कथ्य वा बोलिने भाषा लेख्यमा प्रयोग हुन सक्दैन, यसका केही कारण छन् ।सामाजिक, सांस्कृतिक र भाषिक विविधताका कारण एक ठाउँ वा एउटा सम्प्रदाय, जातिले बोल्ने भाषा, शब्द, लवज अर्को समुदाय, जाति वा ठाउँमा बुझिँदैन, जसले गर्दा सञ्चार कार्य वा संवाद सफल हुन सक्दैन ।
भाषालाई साझा बनाउनका लागि यो ठूलो अवरोध हो । किनभने सदीयौं वर्षदेखि प्रचलनमा रही संस्कारित बनिसकेको भाषामा गरिएको हठात् परिवर्तनले जन्मेदेखि प्रयोग गर्दै आएका भाषाका प्रयोक्तालाई असहज बनाइदिन्छ र साझा भाषा बन्न सक्दैन ।
नेपाली भाषाको प्रयोग नेपालमा बसोवास गर्ने सबै जाति, जनजाति, सम्प्रदायको साझा भाषा हो । यसलाई हठात् परिवर्तन गर्दा ती सबैमा नकारात्मक असर पर्छ, जस्तो कि देवनागरी लिपिकै प्रयोग गर्ने भोजपुरी वा मैथिली समुदाय । उनीहरूले उनीहरूको मातृभाषामा लेख्दा पनि देवनागरी लिपिकै प्रयोग गर्दै आएका छन् तर नेपाली भाषामा हठात् वर्णविन्यासमा परिवर्तनले ती समुदायका मानिसलाई लेख्न समस्या परेको देखिन्छ । यसले ‘सुधार’का नाममा विग्रह निम्त्याउने देखिन्छ ।
कुनै पनि ठाउँमा प्रचलनमा रहेको भाषालाई कथ्यमा मात्र सीमित गरिनुले सो भाषाको अन्त्येष्टि गरिदिन्छ । विश्वमा यस्ता उदाहरण पनि पाइन्छन् । यसर्थ, कथ्य भाषालाई लेख्यमा हाबी गराउनु भाषाको प्राकृतिक विकासमा र विस्तारमा अवरोध हो ।
वर्णविन्यासमा सुधार र विवाद
पछिल्लो समय नेपाली भाषामा देखिएको ठूलो विवाद वर्णविन्यासको हो । वर्णको संरचना कसरी हुन्छ भन्ने कुरा वर्णविन्यास हो । वर्ण मूलतः दुई प्रकारका छन्, स्वर वर्ण र व्यञ्जन वर्ण । स्वर वर्ण ती हुन्, जो आफ्नै भरमा उभिन्छन् वा आफैंमा पूर्ण उच्चारण हुन्छन् । जस्तो ः अ, आ, इ, ई, उ, ऊ… अः । जुन वर्णको आफ्नै आधार हुँदैन पूर्ण उच्चारणमा तथा पूर्ण र प्रस्ट उच्चारित हुन कुनै न कुनै स्वर वर्णको सहायता लिनुपर्छ, ती व्यञ्जन वर्ण हुन् । जस्तै ः क, ख, ग, घ … ज्ञ । यी वर्णको पूर्ण उच्चारणका लागि कुनै न कुनै स्वर वर्ण अपरिहार्य छ, जस्तो ः ‘क’ उच्चारण गर्न ‘क्’ मा ‘अ’ स्वर लाग्नैपर्छ भने ‘कू’ उच्चारण पूर्ण हुन ‘क्’ मा दीर्घ ‘ऊ’ वा ( ू) स्वर लाग्नैपर्छ । अहिलेको सवाल यी वर्णको आवश्यकता र औचित्यमाथि पनि छ । स्वर वर्णमा रहेका ऋ, ऋृ, लृ, लृ वर्ण तथा व्यञ्जन वर्णमा रहेका क्ष, त्र, ज्ञ संयुक्त वर्णका साथै ञ, ण, श, ष को आवश्यकता नरहेको तर्क ‘भाषाविद्’हरूको रहेको छ । उनीहरू के पनि भन्दै छन् भने नेपाली भाषामा दीर्घ उच्चारण हुँदैन, यसकारण दीर्घजति सबै हटाइदिए हुन्छ ।
हाँसउठ्दो कुरा यहींनेर छ । सदीयौंदेखि कुनै तनाव, विवाद र अप्ठ्यारो महसुस नगरी प्रयोग गरिँदै आएका वर्णहरू, जो अहिलेका ‘सुधारवादी’का जिजुबराजुदेखि उनका नातिसम्मले निर्बाध, कुनै झन्झटविना सिक्दै र प्रयोग गर्दै आए, आज आएर त्यही वर्ण÷वर्णविन्यास कसरी ‘गाह्रो’, ‘दुर्बोध्य’ वा ‘अनावश्यक’ हुन पुग्यो ? कसलाई गाह्रो भएको हो, यी वर्ण र यो वर्णविन्यास प्रयोग गर्न, बुझ्न ? के दुनियाँको ‘गाह्रो’ वा ‘असहजता’ विद्वान् प्रा. डा. महोदयहरूले महसुस गरिदिनुभएको हो, जब कि प्रयोक्ताले यस्तो कुनै महसुस गरेका छैनन् ।
विद्वान् महोदयहरूको राय वा नयाँ वर्णविन्यासअनुसार जाँदाका अप्ठेरा वा असहजताचाहिँ बाँकी करोडौं प्रयोक्ताले सहज वा सप्ठेरा मानिदिनुपर्ने ? यहाँ उल्लेख गरौं, केही अप्ठेरा । नयाँ वर्णविन्यास भन्छ, दीर्घ हटाइदेऊ, ह्रस्वमै काम चलाऊ, किनभने नेपाली भाषामा दीर्घ उच्चारण नै हुँदैन । यदि यसो हो भने भनिदिनुस् न, ‘भाइले एक थाल पुरा खायो’ वा ‘श्यामले पुरा रोटी खायो ।’ यी दुई वाक्यमा सबै खाएको वा जुठो पुरो खाएको भनेर कसरी छुट्याउनुहुन्छ महाशय ?
‘ऋ’ को काम छैन, ठीक छ तर यसको प्रयोगविना सही अर्थ सम्प्रेषण गर्ने गरी भाषा प्रयोग कसरी हुन सक्छ ? ‘दृष्टि’मा प्रयोग भएको ‘दृ’ को ‘ऋ’ हटाएर ‘रि’ प्रयोग गर्दा ‘द्रिष्टि’ हुन्छ, ‘सृष्टि’को ‘ऋ’ हटाउँदा ‘स्रिष्टि’ हुन्छ । एक पटक सोच्नुस् त अनि तपाईंलाई ‘भद्दा’ लागेका संयुक्त वर्ण अथवा अनावश्यक लागेका ‘ऋ’ जस्ता वर्णको भूमिका थाहा पाउनुहुनेछ ।
यस्तै ‘ञ’ र ‘ण’ पनि प्रा. डा.ज्यूहरूलाई अनावश्यक लागेछ । ‘च’ वर्गमा लाग्ने ‘ञ्’ र ‘ट’ वर्गमा लाग्ने ‘ण’को उच्चारणमा किन फरक पाउनुहुन्न ? अनि बोली नै नफुटेकालाई ‘बोल्न जानेन’ भन्नु वा अक्षरै नचिन्नेलाई ‘पढ्न जानेन’ भन्नु विद्वता हो र † सँगसँगै हिजो धेरै वर्षदेखि आजसम्म कसले यी वर्णलाई उच्चारण गर्न, पढ्न र बुझ्न भारी वा असहज ठानेको छ, तपाईं केही विद्वान्बाहेक ।
अर्को तर्क छ महाशयहरूको कि संयुक्त वर्णको काम छैन, यिनलाई बुझ्न र बुझाउन गाह्रो भो, अब यिनलाई टुक्रा पारिदिऊँ (देशलाई जस्तै ?) । ओहो, माथि पनि उल्लेख गरियो, यतिका वर्ष, उनका बाजेबराजुदेखि नातिपनाति पुस्तासम्मले सहज, स्वाभाविक र सरल रूपले बुझेको, लेखेको र प्रयोग गरेको वर्ण आज कसरी असहज बन्यो होला ? उनीहरू भन्छन्, अब
‘ङ्ग’ लाई ‘ङ्ग’ लेखौं, ‘द्व’ लाई ‘द्व’ लेखौं र ‘द्य’ लाई ‘द्य’ लेखौं । यी प्रविधिमैत्री पनि भएनन् रे † ल मानियो । यसै गरौँ । यसो गर्दा सँगैका तीनवटा संयुक्त वर्ण क्ष, त्र र ज्ञचाहिँ किन नछुट्याउने ? ‘विद्यालय’लाई ‘विद्यालय’ बनाऔं, तर ‘परीक्षा’लाई ‘परीक्षा’ वा ‘विज्ञान’लाई
‘विज्ञान’ किन नबनाऊँ ? अनि ‘प्रजातन्त्र’लाई ‘प्रजातन्त्र’ किन नबनाऊँ ?
यसरी नै तीनवटा श, ष, स को आवश्यकता देख्नुभएन, उहाँहरूले । एउटै मात्र प्रयोग गरिदिऊँ । ए महाशय, यहाँलाई किन भारी भएका हुन् यी वर्ण ? यहाँले प्रयोग गर्न भारी भए छाडिदिनुस् न ठेक्का लिनुभएको छ र यसको प्रयोगको ? अनि हामी आमप्रयोक्ता सहज, स्वाभाविक रूपमा प्रयोग गरिरहेका वर्णलाई जबर्जस्ती किन बन्देज गराउन खोज्दै हुनुहुन्छ ? भनिदिनुस् कि तपाईं ‘शव’ (लास) जलाउनुहुन्छ कि ‘सब’ (सबै) ? तपाईं ‘शूली’ (ठूला अपराधीलाई गुदद्वारबाट घोपी माथिसम्म उनेर प्राणदण्ड दिइने, भालाजस्तो तीखो टुप्पो भएको प्राचीन हतियार) मा चढाउनुहुन्छ कि ‘सुली’ (पंक्षीको विष्टा) मा ?
यसरी नै तीनभन्दा बढी वर्ण जोडिएमा छुट्याइदिनुहुन्छ, तपाईं अहिले । विशेष नाममा आउने प्रसाद, बहादुर, कुमारी, जो आफैंमा पूर्ण छैनन् र विशेषतः व्यक्तिको लिंग पहिचानका लागि प्रयोग हुने गर्छन् । उसो भए के यो मैले सही लेखें, ‘उसकी आमा सीता कुमारी हो ।’ यी र यस्ता थुप्रै उदाहरण छन्, जसले तपाईंले लिन खोज्नुभएको नेपाली भाषाको हुर्मतका विरुद्ध तपाईंलाई कठघरामा हाल्छन् ।
सबैभन्दा ठूलो प्रहार वाङ्मयमा
पछिल्लो ‘सुधारिएको’ वर्णविन्यासको सबैभन्दा ठूलो प्रहार वाङ्मयमा पर्नेछ, त्यसमा पनि पद्य साहित्यको त यसले हुर्मत नै लिनेछ । किनकि पद्यसाहित्यमा ह्रस्व र दीर्घ वर्णको एकरूपताबाट छन्दको निर्माण गरिएको हुन्छ । तिनै छन्दमा रचना गरिएका लाखौं पद्यरचना अब बेकामे हुनेछन् । वेद, उपनिषद्, महाभारत, रामायण, भगवद् गीतादेखि लिएर वर्तमानका तपाईंका नाति पुस्ताका पद्यकविका रचनासमेत गलत र पिंगल बाजेका छन्द गणबाहिरका रचना ठहरिनेछन् । भानुभक्त, मोतीराम, लेखनाथ, सम, देवकोटा, घिमिरे आदि सबै वर्णविन्यासमा कमजोर र कच्चा ठहरिनेछन् र उनीहरूका रचना झूर ठानिनेछन् । के यो सम्भव छ, महाशय ?
वर्णविन्यास सुधारवादीका तर्क छन्, आधुनिक प्रविधिको सापेक्ष बनाउन पनि वर्णविन्यासमा सुधार आवश्यक परेको हो । कतिपय हाम्रा वर्ण प्रविधिमैत्री भएनन् रे † साथै, यी माथिका वर्ण अहिलेको पछिल्लो प्रविधि ‘कम्प्युटर’ मै टंकण गरिएका हुन्, कसरी प्रविधिमैत्री भएनन्, यी ? अनि भाषालाई प्रविधिमैत्री बनाउने बहानामा आफ्नोपनलाई नामेट पार्ने कि प्रविधिलाई भाषामैत्री बनाउने ? जसरी चिनियाँ, जापानी र कोरियाली भाषाले गरेका छन् ?
उनीहरूले विश्वमा प्रयोगमा आएका ६ हजारभन्दा बढी भाषाबारे कत्तिको सोधखोज गर्नुभएको छ ? अनि अधिकांश भाषाका लेख्य र कथ्य दुवै रूप छन् भन्ने कत्तिको जान्नुभएको छ ? विश्वमा चिनियाँ, कोरियाली, जापानीजस्ता अत्यन्तै गाह्रा र अप्ठेरा (हाम्रा लागि मात्र है, उनीहरूले त सहजै प्रयोग गरेकै छन् ।) वर्णको पनि सहज र स्वाभाविक प्रयोग गरिरहेका छैनन् र ? अनि उनीहरूकहाँ हाम्रोजस्तो मात्र प्रविधि छ र ? उनीहरूकहाँ भएको प्रविधिले उनीहरूका वर्ण प्रयोगमा केही अप्ठेरो पारेको थियो, छ कि ?
निचोड
कुनै पनि ठाउँ, जाति, सम्प्रदायको भाषा भनेको उसको संस्कृति र सभ्यता हो । संस्कृति र सभ्यता भनेको कुनै छोटो समयमा निर्माण हुने कुरा होइन र हठात् भत्काउन वा परिवर्तन गर्न सकिने चिज पनि होइन । सयौं वर्षको साधना, अभ्यास र प्रयोगको प्रतिफल हो, सभ्यता र संस्कृति । यसलाई मानिसको जीवनशैलीका रूपमा लिइएको हुन्छ । यसर्थ हाम्रो नेपाली भाषा पनि हाम्रो संस्कृति हो, सभ्यता हो । यो वा त्यो कुनै पनि बहानामा हामीले हाम्रो संस्कृति र सभ्यतामाथि प्रहार हुन दिनुहुँदैन । कसैको निहित स्वार्थ पूरा गरिदिनका लागि हाम्रो सांस्कृतिक धरोहर भत्काउन उद्यत हुन सक्दैनौं र हाम्रो जीवनशैली बनिसकेको सभ्यता नष्ट गर्ने अनुमति दिइनुहुँदैन ।
यदि, कसैले यस्तो काम गर्न सक्छ भने कि त ऊ राज्यद्रोही हो, देशद्रोही हो वा परचक्रीको वशमा परेको हो वा कुनै आर्थिक र अन्य प्रलोभनमा फसेको हो, यसमा दुई मत हुनै सक्दैन । नेपाली भाषाको हुर्मत लिन उद्यत तप्का, निकाय र व्यक्तिमाथि यथार्थ छानबिन गरी सरकारले चाँडै कारबाही गरोस् र हाम्रो सभ्यता र संस्कृतिको रक्षा गरोस्, जुन राज्यको परमकर्तव्य पनि हो ।
राजधानी अनलाइनबाट साभार

1 comment:

  1. Beautiful expression, Thought provoking ! I have 100 % support... The so called ( Kanikani 6 class pass gareka ) scholars polluted the originality of our Nepali language. Remember ! Sanskrit / Nepali language is the oldest language in the world. Nepal rajya lai PLOTTING Gare jastai hamro Bhasa pani KURUP pare-- badarharule ....

    ReplyDelete