नशालाई जितेका राजेश पायल - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, August 31, 2016

नशालाई जितेका राजेश पायल

नशालाई जितेका राजेश पायल
                                                                                          -जोतारे धाइबा

प्रज्ञा भवनको प्रांगणमा खेमराज गुरुङको पार्थिव शरीर लडिरहेको थियो । उनलाई अन्तिम श्रद्धाञ्जलि दिन गायक, संगीतकार, गीतकार, कवि, संगीतप्रेमीहरू लगायत उपस्थित थिए । त्यही भिडमा राजेश पायल राई पिलपिल आँसु खसालिरहेका थिए । त्यो रुवाइमा निकट मित्र गुमाउनुको पीडा मात्रै थियो कि आफू धन्न खेमकै नियतिमा पुगिएन भन्ने भावले पनि पगालेको थियो उसले हाँसेको, गीत कम्पोज गरेको क्षणले मात्र दिमागमा स्ट्राइक गरिरहृयो’, राजेश भन्छन् । सँगै पिएको पनि याद आएन । खालि ऊ हाँसिरहेको, उसले डार्लिङ, जिन्दगी भनेको त यस्तो चिज हो भनेको मात्र आइरहृयो । मैले सबै चिज भुलेँ । त्यहाँ को छ, को छैन ? सबै भुलेर रोएँ ।
०००
सात दिन भइसक्यो उनले कुनै काम अघि बढाएका छैनन् । गीत रेकर्डिङ, म्युजिक भिडियो सुटिङ, नयाँ एल्बमको फोटो सेसन लगायतका जम्मै काम थाती नै छ ।  ‘भोलिदेखि गर्छु भन्छु, सकेको छैन । खाली उसकै याद आइरहन्छ,’ सेट अपको क्रममा रहेको आफ्नो नामको संस्थाको नक्सालस्थित कार्यालयमा भेटिएका राजेशले सुस्केरा हाल्दै सुनाए ।
नयाँ अफिसको इन्टेरियर डिजाइनिङमा कामदारहरू व्यस्त भइरहँदा ठोकठाकको कर्कश आवाजले ठुँगिरहेको थियो । जसरी राजेशको मन-मगजलाई डार्लिङखेमको स्मृतिहरूले ठुँगिरहेको छ ।
नठुँगोस् पनि किन ? एक-अर्कालाई डार्लिङ सम्बोधन गर्ने उनीहरू धेरै समय सँगै हुन्थे । सँगै दिन बिताउने मात्र होइन, कयौं रातहरु पनि उनीहरुले कहिले नशाको मात त कहिले गफको सुरमा छ्याङ्ङ पारेका थिए ।
एउटै कर्मक्षेत्र र उस्तै रसिक स्वभाव भएका कारण राजेश र खेम लामो समयदेखि अभिन्न मित्र थिए ।
रेष्टुरेन्टमा जमघट गर्ने, घुमघाम गर्ने त हुन्थ्यो नै, एक-अर्काको घरमा आउजाउ पनि चलिराख्ने राजेश सम्झिन्छन् । देश-विदेशका धेरै ठाउँमा सांगीतिक कार्यक्रममा सँगै पनि गएका थिए । ०५४ सालदेखिको चिनजान हो हाम्रो । दिनरात सँगै हुन्थ्यौं हामी । खेमले परिवारभन्दा बढी माया गथ्र्यो मलाई,’ राजेशको मनभरि अटेसमटेस सम्झना छ ।
धेरैले अहिले खेमराजको ४२ वर्षको उमेरमा भएको निधनलाई अत्यधिक मदिरा सेवनलाई कारण मानेका छन् । निकटवर्तीहरुका अनुसार, जन्डिस भएपछि चिकित्सकले उनलाई नपिउन भनेका थिए ।
खेमराज आफूलाई रोक्ने प्रयास पनि गर्थे । तर, रसिक माहौलको अगाडि उनको केही लाग्थेन । साथीहरूले बसौं भन्दा हार्न सक्थेनन् ।
एक समय खेमभन्दा कम थिएनन् राजेश पनि । तर, उनले अहिले आफूले मदिरा र धूमपानलाई छाडेको बताउँछन् ।
आफूले छाडे पनि त्यति निकट साथीलाई अब पिउन बन्द गर्नू भनेर सम्झाउने काम हुन्थेन त ?
उसलाई सम्झाइन्थ्यो, सम्झिन्थ्यो पनि । ५/६ वर्षअघि उसलाई जन्डिस हुँदा अब चाहिँ छोड्ने हो कि भन्ने कुरा हुन्थ्यो । केही समय छोडे पनि निको भएपछि फेरि सुरु गथ्र्यो,’ राजेश भन्छन्, ‘तर, यसले कतै काममा बाधा गरिरहेको छ भन्ने फिल भइसकेपछि पिउन छोड्छु भन्ने सोच पनि थियो उसको । छोड्ने तयारीमा पनि थियो । तर, मृत्युले त्यो चिजलाई देख्दैन रहेछ !
उनी अरुले भनेको जस्तो खेमको अल्पायुमै बित्नुको कारण मदिरा मात्र मान्दैनन् । उनी भन्छन्, ‘लेखान्त कहीँ न कहीँ छ ।
नारायणगोपाललाई म भगवान् जस्तो मान्छु । उहाँले पनि पिउनुहुन्थ्यो । हामीकहाँ कस्तो चलन छ भने, कोही कलाकारले पिउँथ्यो भन्ने थाहा पाएपछि ऊ जे-जस्तो कारणले मरे पनि राम्रो गाउँथ्यो, पिउँथ्यो र मर्‍यो भन्ने गरिन्छ ।उनलाई लाग्छ – ‘उहाँहरु अझै जीवित हुनुहुन्छ । मात्र पार्थिव शरीर छैन ।
०००
एक समय राजेश पनि खेमभन्दा कम पिउँदैनथे । रक्सीमा डुबेका दिनहरूमा उनको खराब हालत देख्नेहरु भन्ने गर्थे, ‘राजेश पायलले खतरा गाउँछ, तर ट्वाँट पिउँछ ।उनी आफैंले यस्तो सुनिरहन्थे ।
खेमको निधनपछि चाहिँ कहीँ कतै म पनि झण्डै खेमकै नियतिमा पुगिनँ भन्ने लाग्यो ?
जन्मेपछि मर्नुपर्नेे शाश्वत सत्य हो । रक्सी नखाने मान्छे पनि अल्पायुमै विभिन्न रोगले मरेको देखेको छु,’ राजेशले भने । तर, एक दिन मर्नुपर्ने भए पनि आफूलाई सम्हालेर बाँच्नुपर्ने उनले तत्वबोध गरेका छन् ।
फरक कति हो भने, राजेशले समयमै बुझेर आफूलाई सम्हाले । उनका अनुसार, ६/७ वर्ष भयो चुरोट र रक्सी त्यागेको । खेमराजको भने नशालु जिन्दगीलाई ब्रेक लगाउने कुरामा केही जोर चलेन ।
उसो त राजेशले पनि मदिरा सजिलै छोडेका होइनन् । एकफेर हल न चल भएर बिरामी परेपछि बाँच्ने रहर जागेर आयो र नशा-ए-दोस्तीलाई दुश्मनीमा बदल्ने अठोट लिए ।
झण्डै ९ वर्षअघिको कुरा । राति अबेर सुत्ने र बिहान निकै ढिलो उठ्ने उनी नायिका रेखा थापाले बनाएको किस्मतफिल्मको प्रिमियर शो हेर्न बिहान ७ बजे कुमारी हल पुगेका थिए । दस बजेतिर घर फर्केर पानी खाई ओछ्यानमा पल्टिए । उठ्न खोज्दा त हातखुट्टा नै चलेन । डाक्टरले स्ट्रोक भएको छ भने । रक्सी, चुरोट र अनिदोलाई कारण मानियो । त्यसको उपचार फिजियोथेरापी मात्र रहेछ । ६ महिनापछि अलि ठीक भएँ,’ विगतमा फर्किए राजेश ।
बिरामी भएपछि उनी ओम अस्पताल, त्रिवि शिक्षण अस्पताल हुँदै अन्तिममा उपेन्द्र देवकोटाको शरणमा पुगे । डाक्टरले फिजियोथेरापी विधि सिकाइदिए । तपाईँमा बाँच्ने इच्छाशक्ति छँदै छ, सब ठीक हुन्छ भनेर ढाडस पनि दिए । नभन्दै बिस्तारै निको हुँदै गए ।
बिरामी परेर थलिँदा पनि उनको गाउने भोक भने पटक्कै कम भएको थिएन । क्रेज त छँदै थियो । उनी खुट्टा खल्च्याङ्-खल्च्याङ् गरेर रेकर्डिङ स्टुडियोमा गीत गाउन जान्थे । कहिले फिल्म निर्माताहरूले डोर्‍याएर लैजान्थे उनलाई । ट्याक्सी चढेर जान्थे र स्टुडियोमा एक-दुई जनाको सहाराले उभिएर गाउँथे । डाक्टरले हाइ स्वरमा गीत नगाउनू भने पनि गाउँथे ।
बेहोशीमा बाँचेको जिन्दगीभन्दा अहिलेको जिन्दगी प्यारो छ उनलाई । बोलीमा दर्शन घोल्दै भन्छन्, ‘मृत्यु शाश्वत भए पनि आफूले सम्हाल्न सकियो भने जीवन सुन्दर बनाउन सकिँदो रहेछ । मान्छेले लत्तो छाड्नु हुँदैन भन्छन् । यो जीवन यस्सै खेर फाल्नु हुँदैन भन्ने दिमागमा आएपछि सही बाटो समाएँ ।
डाक्टरले राजेशलाई मदिरा र चुरोट छाड्नैपर्छ भनेर निर्देशन दिएनन् । जीवन के हो भनेर तपाईंले बुझ्नुहुन्छ भनेपछि उनले मनबाट नशालाई निकालिदिए र चटक्कै छाडिदिए ।
०००
मदिरा छाडे पनि साथीभाइबीचको जमघटबाट उनी भागेनन् । अक्सर खेमराज र अन्य संगीतकर्मी साथीहरूसँग दिनदिनै जमघट भइरहन्थ्यो । अरु साथीहरूले चियर्स भन्दा म जुसको गिलास ठोक्काउँथेँ,’ रमाइलो गर्ने बहाना सुनाए ।
तर, लामो समय पिउने र धुवाँ उडाउने बानी बसेका कारण कहिलेकाहीँ बिर्सँदा रहेछन् । खेमले चुरोट सल्काइरहँदा उनी सरक्क तानेर ओठमा च्यापिहाल्थे । झुक्किएर बियरको गिलास उचाल्थे । तर, खानु हुँदैन है भन्ने सम्झेपछि झसंग भएर पन्छाइहाल्थे । खेमराजमा पनि रक्सी, चुरोट र अनिदो बस्ने बानी रहेको राजेश बताउँछन् ।
नशासँग सम्बन्ध तोडेपछि पहिलेको तुलनामा अलि कम भेटघाट हुन्थ्यो राजेश र खेमको । तर, कतै भेटेपछि गफमै समय बिताइदिन्थे ।
उनी सम्झिन्छन्, ‘अचम्म लाग्छ, के गफ आउँथ्यो त्यस्तो ! टुंगिने कुरै हुन्थेन । कसले धेर पैसा गुमायौं, रक्सीमा सिध्यायौं कि चुरोटमा सिध्यायौं भन्ने कुरा पनि हुन्थ्यो ।
मद्यपान र धूमपान त्यागे पनि ढिलो सुत्ने बानी भने राजेशको अझै हट्न सकेको छैन । फेसबुक चलायो, विदेशका कार्यक्रम आयोजकहरुसँग कुरा गर्‍यो । कार्यक्रम हुने ठाउँको लोकेसन गुगल म्यापमा हेर्‍यो । सुत्ने बेला १/२ बज्छ । उठ्ने बेला ११, १२ बजिसकेको हुन्छ ।
०००
भर्सटायल गायकको चिनारी बनाएका राजेश पायलले फिल्ममा पाश्र्व गायनसँगै आधुनिक, लोक, गजल र पप फ्लेवरका गीत पनि गाएका छन् । र, अधिकांश गीतबाट चर्चा र माया बटुलेका छन् ।
उनले दिएका हिट गीतमध्ये शिरै फूल शिरबन्दीसहितका केही गीतहरू खेमराजको शब्द र संगीतमा गाएका छन् । खेम लोकगीतमा फ्युजन गरेर नयाँ स्वाद ल्याउनुपर्ने बताइरहन्थे ।
राजेश पनि लोकगीतमा रुचि राख्छन् । आफ्नो एल्बममै समेट्दै आएका पनि छन् । पछिल्लो समय आफ्नो अठारौं एल्बम दर्शन नमस्ते ३ल्याउने तयारीमा छन् उनी ।
त्यसपछि सेप्टेम्बर २४ तारिखदेखि अमेरिका, क्यानडा, हङकङको सांगीतिक भ्रमणमा निस्किने योजना छन् । देशभित्रभन्दा विदेशमा हुन्छन् धेरै । विदेश उडिरहने भएकाले उनले ६ महिना धरतीमा, ६ महिना आकाशमारहने गायक भन्ने टिप्पणी पनि पाउने गरेका छन् ।
०५२ सालदेखि फिल्मको पाश्र्व गायनमा रहेर जमेका राजेश संगीतमा सधैं प्रयोग गर्न रुचाउँछन् । कहिले दर्शन र नमस्तेलाई सँगै जोडेर गीत गाउँछन् त कहिले निकै बौद्धिक शब्द ल्याएर श्रोतामाझ जोखिम मोल्छन् । नयाँ-पुराना कलाकारहरु हामीकहाँ जोखिम मोल्न डराउँछन् । एउटा चल्यो भने त्यसकै सिको गर्ने चलन छ । तर, म आफूले एउटा शैलीको गीत गाएपछि त्यो भन्दा नयाँ शैलीको मात्र गाउँछु,’ उनको आफ्नै बाटो छ ।
दर्शन नमस्ते २एल्बममा संस्कृतको श्लोक राखेर असतोमा सद्गमयगाएका उनले अब आउने एल्बममा कवि/गीतकार रत्नशमशेर थापाको मुक्तकलाई गीतका रूपमा गाएका छन् । जुन गीतको उठानमा नायक राजेश हमालले आवाज पनि दिएका छन् । एल्बममा अर्को एउटा गीत हुनेछ- राई, लिम्बू, नेवारी र थारु भाषा एकमुष्ठ रुपमा समेटेर गाइएको ।
देश-विदेशका गरी चार दर्जनभन्दा बढी भाषाभाषीमा पाँच हजारभन्दा बढी गीत गाइसकेका छन् उनले । आफ्नो नयाँ एल्बम १५ लाख रुपैयाँमा विन्दवासिनी म्युजिक कम्पनीलाई बिक्री गरिसकेका छन् ।
यसलाई उनी सुखद मान्छन् ।
पछिल्लो समय उनले कतिपयले चिन्ता गरेको सुनेछन्, ‘संगीतको माहौल र श्रोता सबै आफ्नो हातमा भएको बेला राजेश पायलले यतिखेर राम्रो गीत दिएर संगीतको टे्रन्ड परिवर्तन गर्न सक्थ्यो । जुन उँचाइको गीत दिनुपर्थ्यो, सकिरहेको छैन । बरु आफैं गीत-संगीत बिगार्नतिर लाग्यो !उनले बेलाबेला गर्दै आएको प्रयोगबारे लक्षित रहेछ यो चिन्ता ।

उनको जवाफ छ, ‘लोकगीत गाएर माथि उठाउनुपर्छ भन्ने मैं हुँ ।  राम्रो गीत-संगीत ल्याउनुपर्छ भन्छु म नै । भनेपछि मैले कहाँ बिगारेको छु ? मेरा अधिकांश हिट गीतमध्ये एक/दुई प्रतिशत नराम्रा पनि हिट भए । तर, धेरै त राम्रा गीत नै हिट भएका छन् ।
साभार- अन लाइन खबर डट कमबाट

No comments:

Post a Comment