रामचोकबेसीमा खेलमैदान निर्माण शुरु - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, June 3, 2021

रामचोकबेसीमा खेलमैदान निर्माण शुरु

वासुदेव सेढाई

रामचोकबेसी(लमजुङ)– बेसीशहर नगरपालिका– ११ रामचोकबेसीको मालेबगरमा खेलमैदान निर्माण कार्य थालिएको छ । सो स्थानमा प्रदेशस्तरको खेलमैदान बन्न सक्ने सम्भावना छ ।

        मालेबगरको खेलमैदान निर्माणस्थलको क्षेत्रफल करिब ७५ रोपनीमा फैलिएको छ । स्थानीय स्रोत उपयोग गरेबापत पिपुल्स हाईड्रोले २० घण्टा मैदान खन्ने मेशिन उपलब्ध गराएको र त्यही सहयोगबाट खेलमैदानको निर्माणको काम शुरु भएको हो । उक्त मालेबगर क्षेत्रमा तालिमको लागि ठाउँ प्रयोग गरेबापत  बेसीशहर नगरपालिका– १ को फलियासाँघु स्थित श्रिजंग गणले पनि सो खेलमैदान निर्माणका लागि २१ हजार तीन सय रुपैयाँ प्रदान गरेको छ । स्थानीय सरकार, प्रदेश सरकार सम्भव भए संघीय सरकारले समेत ध्यान दिनु पर्ने यो थलोमा स्थानीय बासी, विभिन्न संघसंस्थाहरूसंग सहयोगको अपिल गर्दै खेलमैदान निर्माण कार्य शुरु गरिएको हो । पछिल्ला दिनमा खेलमैदान निर्माण कार्यमा सबै क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता आएको छ । शुरुमा  ११ साईजको खेलमैदान निर्माण र क्रमशः अन्य संरचना पनि बनाउने लक्ष्य छ । विकासको दृष्टिकोणले भने पछाडि परेको अन्य हरेक दृष्टिकोणले सुन्दर र रमणीय ठाउँ छ त्यो । त्यो खेलमैदानलाई व्यवस्थित र स्थायी बनाउने सकेमा रामचोक क्षेत्रमात्र नभइै सिंगो चिति र उदीपुर क्षेत्रमा समेत त्यसको प्रभाव पर्ने छ । 

        लकडाउनको समयको सदुपयोग गरी गाउँका युवाहरूलाई एकताबद्ध बनाएर विकास निर्माणको काममा लगाउदै गाउँको विकासका लागि युवाहरूको उर्जा महत्त्वपूर्ण हुने भन्दै निर्माण कार्यको सहजीकरणको कार्य चिति– काठमाडौं सेढाई समाजका सदस्य प्रकाश बाबु सेढाईले गर्नुभएको छ ।  रामचोकको विकासका लागि आफ्नो सधैं चासो राख्नु हुने उहाँले उक्त खेलमैदानका लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने नेपाली कांग्रेस बेसीशहर नगरपालिका– ११ का युवानेता सुरेशबाबु पाण्डे बताउनुहुन्छ । रामचोकले पाएको प्रकृतिक बर्दान त छदैछ, यस्ता विकास निर्माणमा पनि ध्यान दिन सके सुनमा सुगन्ध हुनेछ उहाँको तर्क थियोे ।

        जिल्लामै खेलकुदका लागि व्यवस्थित स्थलको अभाव भएको बेलामा स्थानीय सरकार र जिल्ला खेलकुद विकास समितिले पहल गर्ने हो भने उक्त स्थल खेलकुदका लागि जिल्लाकै केन्द्र बन्न सक्छ । 

        यसैगरी, निर्माणाधीन खेलमैदानका लागि स्थानीय युवा रामचन्द्र सेढाई (कालू भाइ)को पनि सहयोग रहेको छ ।  समाजसेवा युवा क्लबले नेतृत्व लिएर शुरुवात भएको निर्माण अभियानमा अध्यक्ष ईश्वरराज सेढाईले अब गाउँको विकासका लागि क्लबले समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । निर्माण अभियानमा युवा क्लबका सदस्यहरू स्थानीय लगायत शुभेच्छुकहरूको सहभागिता रहेको छ । 

    ` रामचोकबेसीको बर्तल चौतारा नजिक स्थानीयहरूले पुजा गर्ने देवी मन्दिर निर्माण काम पनि शुरु भएको छ । सामाजिक काममा सक्रिय स्थानीय युवा राजनबाबु सेढाईको सक्रियता एवम् अगुवाइमा उक्त मन्दिर निर्माण थालिएको हो ।


No comments:

Post a Comment