अन्तरङ्ग संवाददाता
काठमाडौं– नेकपा एमालेले पार्टी गतिविधिविरुद्ध लागेको जिकिर गर्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । स्थायी कमिटीको जेठ ८ गतेको बैठकले यस्तो निर्णय गरेको हो ।
सो पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बताउनु भयो । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गरेका कारण स्पष्टीकरण सोध्ने निर्णय भएको हो । उहाँले भन्नुभयो, ‘माधवकुमार नेपालले प्रधानमन्त्री बन्ने वातावरण बन्यो समर्थन गर्छौँ भनेर हस्ताक्षर गरेका हौँ । शेरबहादुर देउवालाई समर्थन छैन भनेर कतिले भन्नुभएको छ त्यसैले अहिले ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हौँ ।’
यसअघि एमालेले नेता नेपाल, खनालसहित ४ नेतालाई स्पष्टीकरण सोधेको थियो । तर केही दिन यता पार्टी एकीकरणका लागि भन्दै वार्ता र छलफलहरू भएपछि स्पष्टीकरण सोधर कारबाही गरिएका नेताहरूको कारबाही फुकुवा गरिएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री चयनका लागि हस्ताक्षर गरेका २६ मध्ये ११ जनालाई मात्रै स्पष्टीकरण सोध्ने निर्णय भएको छ । यसलाई माधव नेपाल समूहभित्रै फुट ल्याउने ओली रणनीति रहेको बताइन्छ । देउवालाई प्रधानमन्त्री बनाउन चाहने बाँकी १५ जनालाई भने स्पष्टीकरण सोधिएको छैन ।
माधवकुमार नेपाल समूहमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतका प्रभावशाली नेताहरुलाई भने स्पष्टीकरण नसोधिएको बताइन्छ ।

No comments:
Post a Comment