अन्तरङ्ग संवाददाता
बेसीशहर– एकाविहानै भूकम्पको धक्का अनुभूति भयो विहान ५.४२ बजे । त्यसको केन्द्रविन्दु लमजुङको भूलभूलेमा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प ५.८ रेक्टरको रहेछ । त्यसपछि पनि पराकम्पन जाने क्रम जारी छ । ६.५४ सम्ममा तीन पटक कम्पन गएका कारण मानिसहरू डरले घरभित्र बस्ने सकेका छैनन् । सडकका चोकचोकमा मानिसहरू थुप्रिएको देखिन्छ ।
पहिलो धक्का अउँदा कति मानिस निद्रामै थिए । निद्रा अवस्थामै भागदौड गर्दा स्वतन्त्र पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष एवम् लमजुङ रत्न साप्ताहिकका वरिष्ठ संवाददाता खुशीमाया गुरुङको गोडा मर्किएर हिड्न नमिल्ने भएको छ । बेसीशहर नगरपालिका– ६ चनौटे गाउँमा घरको पुतली गाह्रो भत्किएर ३७ वर्षीया माया गुरुङ घाइते भएकी छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनी खतरा मुक्त भएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो ।
घाइते महिलाका श्रीमान् विहानै ट्याक्टर चलाउन हिडेको र छोराछोरी घरबााहिर खेल्न थालेको हुँदा सुरक्षित रहेको सोही स्थानमा घर भएका स्वतन्त्र शक्ति साप्ताहिकका कार्यकारी सम्पादक कृष्ण आलेले बताउनु भयो ।
यसैगरी, भूकम्पको केन्द्रविन्दू रहेको मर्स्याङ्दी गाउँपालिका– ६ को ठूलीबेसी गाउँका २२ वर्षका गोविन्द अधिकारी घरको बार्दलीबाट हामफाल्दा उनको टाउकोमा चोट लागेर बेहोस भएको र उनको उपचारका लागि अस्पताल पठाइएको त्यहाँबाट स्वतन्त्र पत्रकार संघ नेपालका जिल्ला उपाध्यक्ष बेलबहादुर थापाले बताउनु भएको छ ।
त्यस्तै, बेसीशहर नगरपालिका– ११ चिति, तिवारीडाँडा निवासी स्वतन्त्र पत्रकार संघ नेपालका जिल्ला सल्लाहकार रुद्रनिधि तिवारीको २०७२ सालको भूकम्पले भत्काएको घर फेरि बस्न नमिल्ने गरी चर्किएको बताउनु भएको छ ।
बेसीशहर नगरपालिका– १ को उदीपुरमा पनि भूकम्पले क्षति पुर्याएको र विवरण आउन बाँकी रहेको कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका जिल्ला सचिव गोविन्द अधिकारीले बताउनु भएको छ ।
भूकम्पको केन्द्रविन्दू रहेको भूलभूलेमा फोन सम्पर्क हुन सकेको छैन । थप विवरण आउन बाँकी छ ।
भूकम्पको पराकम्पन जाने क्रम जारी छ । ६.४५ बजेसम्म ३ धक्का दिएकोमा फेरि ६.५१ मा पनि धक्का अनुभूति भएको छ ।


No comments:
Post a Comment