अन्तरङ्ग वर्ष– २९, अंक– ३४, बैशाख २ गते (०७८) प्रकाशित
बेसीशहर– लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्दीले १५औं वर्षमा प्रवेशको अवसरमा गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीको प्रमुख अतिथ्यतामा स्थापना दिवस मनाएको छ । दिपज्योती आमा समूह सम्मानका साथै १४औँ वार्षिकोत्सव तथा १५औँ स्थापना दिवस नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना आदान प्रदान गरी बैशाख १ गते मनाएको हो ।
सो अवसरमा मर्स्याङ्दी गाउँपालिका– ५ को खानीगाउँ स्थित दीपज्योती आमा समूह सम्मानित भएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडी र कार्यक्रमका अध्यक्ष एवं रेडियो सञ्चालक संस्थाका उपाध्यक्ष धर्मराज श्रेष्ठले संयुक्त रुपमा खदा सहित सम्मान पत्र प्रदान गर्नुभएको हो ।
स्थापना दिवसको अवसरमा हरेक वर्ष एउटा आमा समूह सम्मान गर्दै आएको रेडियोले यसवर्ष दिपज्योती आमा समूहलाई विशेष सम्मान गरेको रेडियोकी कार्यकारी निर्देशक मीना गुरुङले बताउनुभयो । उहाँका अनुसार आमा समूहमा आवद्ध भई सँस्थागत रुपमा समूदायमा सकरात्मक काम गर्ने र उदाहरणीय काम गर्दै आएका आमा समूहहरूलाई सम्मान गर्ने क्रममा यसवर्ष दिपज्योती आमा समूहलाई छनौट गरी सम्मान गरिएको हो ।
उक्त आमा समूह विशेषगरी पर्यटन प्रवद्र्धन, सामूहिक व्यवसायिक कृषि, घरेलु हस्तकलाको व्यवसायिक उत्पादन र बजारीकरणका साथ लोकसंस्कृतिको संरक्षणका कार्यमा विगतका वर्षदेखि नै उदाहरणीय काम गर्दै आएको छ । २०६५ सालमा स्थापना भएको उक्त आमा समूहले खानीगाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न रक गार्डेनको व्यवस्थापन, सरसफाई, गाउँमा सञ्चालित होमस्टेमा पाहुनाहरूको व्यवस्थित व्यवस्थापन, स्थानीय सांस्कृतिक प्रदर्शनका कार्यक्रमहरू गर्नुका साथै सकेसम्म स्थानीय अर्गानिक उत्पादनबाट पर्यटकहरूको स्वागत सत्कार गर्ने अनुकरणीय कार्य गर्दै आएको छ ।
उक्त आमा समूहले कोभिड– १९ संक्रमण जोखिमसँगै देशमा लकडाउन भएको अवस्थामा पनि व्यवसायिक कृषि अन्तर्गत सामूहिक तरकारी खेती गरी उदाहरणीय काम गरेको थियो । लकडाउनका कारण गाउँमा पर्यटन आगमन बन्दाबन्दीको समयलाई सदुपयोग गरी आमा समूहको अगुवाईमा सामूहिक व्यवसायिक तरकारी खेती उत्पादन तथा विक्री वितरण गरी बैकल्पिक आम्दानी गरी उदाहरीय कार्य गरेका थिए ।
सम्मान ग्रहण गर्न दिपज्योति आमाकी अध्यक्ष मैतकाशी गुरुङ, सचिव सीता गुरुङ र कोषाध्यक्ष युकुमारी गुरुङ आउनु भएको थियो । उहाँहरूले संयुक्त रुपमा सम्मान पत्र ग्रहण गर्नु भयो । सम्मान पाएसँगै आमा समूहले आँफूहरूलाई थप उत्प्रेरण जागेको र समाजका लागि अझै धेरै काम गर्ने हौसला, प्रेरणा तथा उर्जा मिलेको उहाँहरूले बताउनु भएको छ ।
रेडियो मर्स्याङ्दीले सत्य समाचार, सूचना, मनोरञ्जन मात्र नभई सशक्तिकरण र सामुदायिक विकासको लागि जिल्लाकै सशक्त सञ्चार माध्यमको रुपमा स्थापित हुँदैै आएको छ । स्थापनाकालमा दैनिक चार घण्टाबाट प्रसारण गरेको उक्त रेडियोले हाल दैनिक १७ घण्टा स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय समाचार, सम्वाद, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, जलवायु, वातावरण संरक्षण, विपद व्यवस्थापनका क्षेत्रमा समाचार तथा सन्देशमूलक रेडियो कार्यक्रम संचालन गर्दै आएको छ । यसैगरी बालबालिका, महिला, प्रौढ, युवा वर्ग तथा साहित्य संस्कृति लक्षित मनरोञ्जनात्मक कार्यक्रमहरू पनि उत्पादन र प्रसारण गर्दै आएको छ ।
रेडियो सञ्चालक समितिका अध्यक्ष गमप्रसाद गुरुङले सरोकारवालाहरूलाई धन्यवाद सहित शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष गुरुङले सामुदायिक रेडियोहरूको वर्तमान अवस्था र रेडियो मस्र्याङदीको निरन्तरता जिल्लाबासीले गर्व गर्न लायक विषय भएको बताउनुभयो ।
रेडियो सञ्चालक सँस्था सामुदायिक विकास तथा सञ्चार केन्द्रका उपाध्यक्ष धर्मराज श्रेष्ठको अध्यक्षता भएको थियो ।
२०६४ सालमा स्थापना भएको उक्त सामुदायीक रेडियो ९५ मेगाहर्ज नयाँ वर्षको दिन बैशाख १ गते १४ वर्ष पुरा गरी १५ वर्षमा प्रवेश गरेको हो ।
No comments:
Post a Comment