अन्तरङ्ग संवाददाता
सुन्दरबजार(लमजुङ)– लमजुङमा पनि नेकपा एमालेको माधवकमार नेपाल पक्षधर संगठित हुन थालेको छ । नेकपा एमालेको सुन्दरबजार नगरस्तरीय भेला गरी ९ बुँदे घोषणा पत्र जारी गरिएको बताइएको छ । नेकपा एमाले केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य चुडामणि जंगली विश्वकर्मा प्रमुख आतिथ्यतामा सो कार्यक्रम गरिएको हो ।
मन्तव्य व्यक्त गर्दै जंगलीले परिस्थितिलाई नजर अन्दाज गर्दै पार्टीभित्र पछिल्लो समय विकास भएको अवसरवाद तथा गुटबन्दीका विरुद्ध समानान्तर कमिटि गठन गर्नुपरेको बताउनुभयो । उहाँले इतिहासबाट शिक्षा लिई पार्टीलाई एकतावद्ध बनाउनुपर्ने दायित्वप्रति सबै कार्यकर्ता सचेत हुनुपर्ने उहाँको जोड थियो ।
उक्त कार्यक्रमका विशेष अतिथि जिल्ला कमिटी अध्यक्ष रामबाबु अधिकारीले पार्टी भित्र देखिएको वर्तमान समस्यलाई समाधान गर्दै पार्टी एकतालाई बलियो बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले केपी ओली नेतृत्वको स्वच्छाचारी र चरम गुटबन्दीको रुद्धमा वैचारिक र संगठानिक हिसावले वडा तहसम्म कमिटि विस्तार गर्ने, कार्यकर्ताहरूका भेला तथा प्रशिक्षणहरूको अयोजना गर्ने आफ्ना कार्यक्रम रहेको जानकारी दिनुभयो ।
सुन्दरबजार नगर कमिटि अध्यक्ष जगदिश सेढाईको अध्यक्षतामा भएको भेलामा ९ बुदे घोषणपत्र जारी गरिएको छ ।
यसैगरी, भेलाले पार्टी केन्द्रद्वारा सञ्चालित संगठन सुदृढिकरण अभियान अन्तर्गत आगामी वैशाख २० गतेभित्र सुन्दरबजार नगरपालिकाको ११ वटै वडामा विशेष भेला आयोजना गर्ने निर्णय गरेको नेकपा एमाले केन्द्रीय उर्जा विभाग सदस्य इजन बरालले बताउनुभयो । उहाँका अनुसार सुन्दरबजार नगर कमिटिलाई विस्तार गरी ४३ सदस्यीय बनाइएको छ । विस्तारित समितिको सदस्यहरूलाई कार्यक्रमका प्रमुख अतिथि चुडामणी जंगलीले सपथ ग्रहण गराउनुभएको थियो ।
उक्त कार्यक्रममा केन्द्रीय सामान्य प्रसाशन विभागका सदस्य डा. बालकृष्ण बराल, केन्द्रीय पुस्ताकालय तथा अभिलेखालय विभागका सदस्य लिलाधर सपकोटा, जिल्ला कमिटिका उपाध्यक्ष मोहन थापा, सचिव हिरालाल विश्वकर्मा, उपसचिव हरिनिधी तिवारी, नगरकमिटिका ईन्चार्ज कृष्णबहादुर केसी लगायतको सहभागिता थियो । उक्त कार्यक्रमको सञ्चालन सुन्दरबजार नगरकमिटिका सचिव राम तामाङले गर्नुभएको थियो ।
सो अवसरमा जारी घोषणापत्रको पूर्ण पाठ–
२०७७ चैत्र २९ गते नेकपा (एमाले) सुन्दरवजार नगर कमिटीद्वारा सुन्दरबजार
नगरपालिका वडा नं. ६, ठाँटीचौरमा आयोजित
सुन्दरबजार नगरपालिकास्तरीय विषेश भेला, कमिटि पुनर्गठन तथा सपथ ग्रहण कार्यक्रममा पारित प्रस्ताव तथा घोषणापत्र
१. नेपालको वामपन्थी लोकतान्त्रिक आन्दोलनका दौरानमा आफ्नो अमूल्य जीवनको आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति यो विषेश भेला हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलाल, जननेता कमरेड मदन भण्डारी, कुशल संगठक कमरेड जीवराज आश्रति र कम्युनिष्ट पार्टी नेतृत्वको पहिलो सरकारका प्रधानमन्त्री कमरेड मनमोहन अधिकारी सहितका हाम्रो पार्टीका अग्रजहरूको स्मरण गर्दै उहाँहरू प्रति यो भेला हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै लमजुङका जनप्रिय नेता शहीद कमरेड तिलकराज पाण्डे, शहीद कमरेड शुकमान गुरुङप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै नगर क्षेत्र भित्रका सम्पूर्ण अग्रज कमरेडहरूप्रति यो भेला विषेश सम्मान व्यक्त गर्दछ ।
२. आज हामीले यस विशेष भेलाको आयोजना जुन क्षणमा गर्दै छौं यो नेपालको कम्युनिष्ट आन्दोलनको असाधारण परिस्थिति हो । हाम्रा सामु एकातर्फ सात दशक भन्दा लामो कम्युनिष्ट आन्दोलनको गर्विलो इतिहास छ भने अर्कातर्फ क्रान्ति र प्रतिक्रान्तिका घटनाहरू, अग्रगमन र पश्चगमनका सुखद तथा दुःखद परिस्थितिहरू, टुट, फुट र विभाजनका पीडादायी क्षणहरू देखेका र भोगेका छौं । इतिहासबाट शिक्षा लिई पार्टीलाई एकतावद्ध वनाउनु पर्ने परिस्थितिलाई नजर अन्दाज गर्दै पार्टी भित्र पछिल्लो समयमा घोर दक्षिणपन्थी अवसरवाद तथा गुटवन्दी, पार्टीमा हुँर्कदै गरेको व्यक्तिवाद, चरम महत्वाकांक्षी प्रवृत्ति लगायतका विचारहीन, तथा असैद्धान्तिक गतिविधिहरू देखा परेका छन् । यस्ता पार्टी विरोधी, लोकतन्त्र विरोधी एवं कम्युनिष्ट आन्दोलन विरोधी गतिविधिहरू पार्टीका स्थापित विधि, पद्धति, प्रक्रियाका एवं प्रचलित कानुन विरुद्ध छन् । कम्युनिष्ट आदर्श, मूल्य, मान्यता तथा हित विपरित छन् । अहिले पार्टीमा व्यक्तिपूजा, शक्तिपूजा, गुटभक्ति नै पार्टी जीवनको संस्कृति बनिरहेको छ । वस्तुतः अहिले पार्टीमा ‘म’ र ‘मेरो पद’ नै विचारधारा बन्दै गएको छ । पार्टीका सम्मानीत नेताहरूलाई कथित गुटवन्दीका आधारमा निलम्वन गर्ने कार्यको हामी घोर निन्दा र भत्र्सना गर्दछौं । यस्ता गलत क्रियाकलापको हामी खारेजी गर्दछौं । यस्ता गलत चिन्तन र प्रवृत्तिको नेतृत्व नेकपा (एमाले) का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी ओलीले गर्नु भएको छ । यस्ता गतल चिन्तन र संस्कृतिको डटेर सामान गर्नु पर्ने ऐतिहासिक दायित्व हामी स्वाभिमानी कार्यकर्ताहरूको काँधमा आएको छ । हामी आज नेकपा (एमाले) को विचार, सिद्धान्त एवं आधारभूत मूल्यहरूको रक्षा र विकासका चिन्ताले भेला भएका छौं । आजको यस संटकपूर्ण अवस्थामा नेकपा (एमाले)को एकता वचाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं भन्ने मूल नाराका साथ पार्टीले संचालन गरेको दुई महिने वैचारिक तथा संगठनात्मक सुदृढिकरण अभियानलाई सफल पार्न सुन्दरवजार नगरका पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुक एवं न्यायप्रेमी आम जनसमुदायमा यो भेला हार्दिक आव्हन गर्दछ ।
३. हाम्रो गौवरशाली पार्टी नेकपा (एमाले) का पूर्व अध्यक्ष, महासचिव एवं पूर्व प्रधानमन्त्रीद्वय वरिष्ठ नेताहरू कमरेड झलनाथ खनाल, कमरेड माधवकुमार नेपाल सहितको नेतृत्व पंक्तिले देशव्यापी रुपमा पार्टी भित्र संचालन गर्नु भएको अन्तर पार्टी संघर्षले मात्र केपी ओली गुटका गलत प्रवृत्तिलाई परास्त गर्दै सही अर्थमा नेकपा (एमाले)लाई वैज्ञानिक समाजवादको कार्यदिशमा अघि बढाउन सकिन्छ भन्नेमा हामी दृढ विश्वस्त छौं । नेकपा (एमाले) को क्रान्तिकारीपनलाई खण्डित हुन नदिन सुन्दरवजार नगर भित्र पार्टीको शुद्धिकरण सुुदृढीकरण अभियान संचालन गरी उल्लेखित युगिन कार्यभारलाई पुरा गर्न हामी दृढ संकल्पित भएको सगर्व घोषणा गर्दछौं । नेकपा (एमाले) सुन्दरवजार नगर कमिटी, लमजुङको संगठनको कामलाई ऐतिहासिक पुनर्गठन आजको यस विशेष भेलावाट सम्पन्न भएको छ । अव हामीहरू नगरका ११ वटै वडामा आगामी वैशाख २० गते भित्र वैचारिक, संगठनात्मक सुदृढिकरण तथा कमिटीहरुको पुनर्गठनको कामलाई सम्पन्न गर्ने अठोट व्यक्त गर्दछौं । यस ऐतिहासिक अभिभारालाई पुरा गर्न नगर भित्रका पार्टीका सम्पूर्ण नेता,कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा आम न्यायप्रेमी जनसमुदायलाई हार्दिक आव्हान गर्दै सत्य र न्यायको लागि पूर्ण साथ, सहयोग र समर्थनका लागि यो विषेश भेला हार्दिक अनुरोध गर्दछ ।
४. सामाजिक न्याय सहितको विकास, समृद्धि, सुशासनका पक्षमा सुन्दरवजार नगरपालिकाका सम्पूर्ण आम न्यायप्रेमी जनसमुदायहरूलाई साथ सहयोग गर्न हाम्रो पार्टी जुन सुकै परिस्थितिमा सदैव तयार रहेको छ र रहने छ । सुन्दरवजार नगरकार्यपालिकाको कार्यालय तथा वडाहरूका विकास निर्माण लगायतका काममा ढिलासुस्ती, रकम फ्रिज गराउने, लापरवाही, चलखेल, लेनदेन तथा कतिपय गलत गतिविधिहरू समेत हुने गरेका गुनासाहरू सुनिन थालेका छन् । आजको यस विषेश भेला यस्ता गलत कृयाकलापहरू तुरुन्त वन्द गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ । सामाजिक न्याय सहितको विकास, समृद्धि र सुशासनको पक्षमा काम गर्न गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।
५. सुन्दरवजार नगरपालिकाको समग्र विकास, समृद्धिको यात्राका लागि दिर्घकालीन सोच सहितको २५ वर्षे रणनीतिक विकास योजना (गुरुयोजना) तर्जुमा गरी नगरको विकास तथा समृद्धिको कार्यलाई वैज्ञानिक ढंगले अघि बढाउन सुन्दरवजार नगरपालिकाका प्रमुख, उपप्रमुख तथा सम्पूर्ण पदाधिकारी, वडा अध्यक्ष, नगर कार्यपालिकाका सदस्य तथा नगरसभाका सदस्यहरूसँग आग्रह गर्दछौं । हचुवाको भरमा दिर्घकालीन सोच, लक्ष्य र गन्तव्य विना गरिएका कार्यहरू वालुवामा पानि हलेको जस्तो मात्र हुने तर्फ सचेत रहन अनुरोध गर्दछौं । २०७४ वैशाखमा नगरपालिकाको निर्वाचन सम्पन्न भएको करिव ४ वर्ष पुरा हुन लाग्दा पनि सुन्दरवजार नगरपालिकाको गुरुयोजना नवन्नु समग्र नगरकै दुर्भाग्य भएको ठहर गर्दै यो भेला दुःख व्यक्त गर्दछ । नगर प्रमुख सहित सिंगो टिमलाई जनताले आफ्नो जीवनमा सकारात्मक र गुणस्तरीय परिवर्तन भएको अनुभुति गर्नु विकासको सही अर्थ हो भन्ने कुरालाई मनन गर्न हार्दिक अनुरोध गर्दछौं । जतिसक्दो छिटो जनउत्तरदायी भएर सुन्दरवजार नगरपालिकामा समाजवादका आधार तयार गर्ने कार्यमा लाग्न, गुरुयोजना, आवधिक योजना सहितका नतिजामा रुपान्तरण गर्ने विकास र समृद्धिका दिगो भिजन सहितका दस्तावेजहरू तयार गरी लागु गर्न सम्पूर्ण जनप्रतिनिधिज्यूहरूमा यो विषेश भेला हार्दिक अनुरोधका साथ जोडदार माग गर्दछ ।
६. सच्चा कम्युनिष्ट पार्टी निर्माण गर्नु भनेको कार्यकर्तालाई आत्मनिर्भर, स्वाभिमानी र उर्जाशील बनाइराख्नु हो । विधि र पद्धतिमा अघि बढ्ने नेतृत्वले सच्चा स्वभिमानी कार्यकर्ता प्राप्त गर्छ । जनजविकाको समस्या भोग्दै आएका न्यायप्रेमी समुदायलाई उत्पादनसँग जोड्न सके सत्ता, स्वार्थ र शक्तिको पछि लागेर उनीहरूले आफ्नो निष्ठा वा आत्मा बेच्नु पर्दैन तथा आत्मनिर्भरताका लागि स्वरोजगार र उद्यमशील हुनु आवश्यक छ भन्ने कुरा यो भेला ठहर गर्दछ । अतः सामाजिक न्यायलाई केन्द्र भागमा राख्दै पार्टीद्वारा संचालित वैचारिक तथा संगठनात्मक सुदृढिकरण अभियानको दौरानमा समाजवादको कार्यदिशालाई अझ स्पष्टताका साथ जनसमक्ष ल्याउन र उत्पादनशील, स्वरोजगारमूलक एवम् आत्मनिर्भरमुखी ठोस र मूर्त कार्यनीति तय गरी समाजवादको आधार निर्माणलाई अझ वलशाली वनाउन हामी दृढ संकल्पित छौं । पार्टीको दुई महिने अभियानको दौरानमा सुन्दरवजार नगरका ११ वटै वडाहरूमा उत्पादन तथा उत्पादकत्व वृद्धि अभियानमा सहभागी वनौं, स्वरोजगारी सिर्जना मार्फत स्वाभिमानी राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान गरौं भन्ने मूल नाराका साथ एक वडा–न्यूनतम् वीस उद्यमी घर वनाउने (२२० घरधुरी) कार्यलाई आगामी दुई महिना भित्र सम्पन्न गर्ने विषेश अभियान समेत सँगसँगै संचालन गरिने छ । जनतालाई उद्यमी वनाउने यस विषेश अभियानले मुख्यतः सुन्दरवजार नगरपालिका भित्र उत्पादन तथा उत्पादकत्व वृद्धिमा सहयोग गर्ने, उत्पादनमूलक कार्यमा जनतालाई गोलवन्द गर्ने, नगरको युवा वेरोजगारीको समस्यालाई समाधान गर्ने, नगर क्षेत्र भित्रका वाँझिएका जमिनहरूको सदुपयोग गरी कृषिमा आधारित उद्योगको विकासमा जोड दिने र समग्रमा मुलुकको आत्मनिर्भर स्वाभिमानी राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि योगदान गर्ने छ । अतः यस ऐतिहासिक कार्यमा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा आम न्यायप्रेमी जनसमुदायलाई सहभागी हुन, सफल वनाउन साथ, सहयोग र समर्थनका लागि यो भेला हार्दिक अनुरोध गर्दछ ।
७. सुन्दरवजार नगरपालिका क्षेत्र भित्र उत्पादन तथा उत्पादकत्व वृद्धि अभियान मार्फत स्वरोजगारी सिर्जना गर्ने, खाद्यान्न, पशुपंक्षी पालनमा आत्म निर्भर नगर वनाई नगरबाट निर्यात गर्ने, कृषिमा आधारित उद्योगहरूको विकास गर्ने लगायतका कार्यलाई ठोस र मूर्त ढंगले लागु गर्न स्पष्ट नीति पास गर्न, कार्यविधि र निर्देशिका वनाउन हामी सुन्दरवजार नगरपालिका नगरकार्यपालिकाको कार्यालयसँग जोडदार माग गर्दछौं । यस कार्यलाई कार्यान्वयन गर्न मेयर उद्यशीलता विकास कार्यक्रम लागु गर्न र सुन्य प्रतिसत व्याजमा विना धितो ५ वर्षे सहुलितयपूर्ण कर्जाको व्यवस्था तत्काल मिलाउन नगर प्रमुख सहित सम्पूर्ण जनप्रतिनिधिहरूलाई यो भेला हार्दिक अनुरोध गर्दछ । यस ऐतिहासिक कार्यलाई सफल वनाउन सुन्दरवजार नगरपालिकालाई नीतिगत हिसावले, विज्ञताका हिवासले तथा अन्य आवश्यक पर्ने सहयोगका हिसावले समेत नेकपा (एमाले) सुन्दरवजार नगर कमिटी सधै तत्पर रहेको यो भेला मार्फत सुन्दरवजार नगरपालिकाका नगर प्रमुख लगायत सम्पूर्ण जनप्रतिनिधिहरूलाई जानकारीका साथ हार्दिक अनुरोध गर्दछौं ।
८. यस विशेष भेलालाई सम्पन्न गर्न हाम्रो निमान्त्रणालाई स्वीकार गरेर प्रमुख आतिथिको रुपमा उपस्थिति हुनु हुने पार्टीका श्रद्धेय नेता तथा संविधानसभा सदस्य, केन्द्रीय कमिटी सदस्य कमरेड चुडामणि जंगली वि.क., नेकपा (एमाले) जिल्ला कमिटी, लमजुङका अध्यक्ष कमरेड रामबावु अधिकारी, पार्टीका केन्द्रीय विभागका सदस्य कमरेडहरु डा. वालकृष्ण वराल, इजन वराल, लिलाधर सापकोटा तथा जिल्ला कमिटी, लमजुङका पदाधिकारी, सदस्य लगायत सम्पूर्ण अतिथि कमरेडहरूलाई यो भला हार्दिक धन्यवादका साथ आभार व्यक्त गर्दछ ।
९. यस विषेश भेलालाई सम्पन्न गर्न सहयोग गर्नु हुने सुन्दरवजार नगर कमिटीका कमरेडहरू, विभिन्न वडाहरूबाट सहभागी हुन आउनु भएका कमरेड, स्वयंसेवक कमरेडहरू लगायत सम्पूर्णमा यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

No comments:
Post a Comment