हार्डवेयर पसलमा आगालागी : करोडौको क्षति, सदरमुकाममा समयमा दमकल नपुग्दा बढी नोक्सान - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, April 12, 2021

हार्डवेयर पसलमा आगालागी : करोडौको क्षति, सदरमुकाममा समयमा दमकल नपुग्दा बढी नोक्सान

अन्तरङ्ग संवाददाता

लमजुङ । लमजुङको सदरमुकाम बेसीशहर नगरपालिका– ८ दनाई फाँट स्थित बेसीशहर हार्डवेयर पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । बेसीशहर नगरपालिका– १० बाँझखेत निवासी गंगाबहादुर थापाको पसलमा चैत २९ गते राती साढे १० बजेतिर आगलागी हुँदा उक्त नोकसान हुन गएको प्रहरीले जनाएको छ । 

आगलागीको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय लमजुङका इन्सपेक्टर ओमप्रकाश पुनको नेतृत्वमा ३५ जनाको टोली र  सशस्त्र प्रहरीले असई प्रेम भुजेलको नेतृत्वमा १४ जनाको टोली घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरेको थियो । तर सोही स्थानमा रहेको दमकल भने साढे ११ बजेमात्र घटनास्थलमा पुगेको प्रत्यक्षदर्शी स्थानीयले बताउँदै आक्रोश पोखेका थिए । उनीहरू भन्छन् ‘समयमै दमकल पुगेको भए ठूलो क्षति हुने थिएन ।’ 

दमकल घटना भएको एक घण्टा ढिला पुगेको मात्र हैन त्यसरी ढिला जाँदा पनि दमकलमा पर्याप्त पानी रहेनछ, त्यसैले पनि आगो निभाउन कठिनाई उत्पन्न भएको थियो । आगलागीबाट पसलका सबै सामान जलेका छन् । स्थानीय, प्रहरी र दमकलको सहयोगमा राति १२ बजे आगो नियन्त्रणमा आएको प्रहरी भनाई छ । प्रहरीका अनुसार चारवटा सटरमा रहेका छड, सिमेन्ट, जस्ता, रंग, रंग बनाउने मेसिन, ल्यापटप, नगद लगायत सामग्री जलेका छन् । पसलको पछाडिपट्टि रहेको गोदाममा समेत क्षति पुगेको छ । आगलागी के कसरी भएको हो ? भन्ने यकिन भइनसके पनि विद्युत् ‘सर्ट’ भएको हुन सक्ने अनुमान गरिएको प्रहरी भनाई छ । 

आगो नियन्त्रण लिने क्रममा सहयोग गर्न पुगेका बाराको देउताल गाउँपालिका– ४ का ३५ वर्षीय राजेश्वर पासवान घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उक्त आगलागीबाट १ करोड २५ लाख क्षति भएको हार्डवेरका सञ्चालक गंगाबहादुर थापाले बताउनु भयो । 

बेसीशहर नगरपालिकामा दमकल भएपनि नगरभित्र आगलागी भएका बेलामा कहिले ढिलो पुग्ने, कहिले पर्याप्त पानी नहुने गरेका कारण बढी नोक्सान हुने गरेको स्थानीयले गुनासो गर्र्दै आएका छन् । नगरको दमकल छिटो, छरितो र गुणस्तरीय सेवा हुनुपर्ने स्थानीय चन्द्रकान्त पौडेलले बताउनु भयो । उहाँका अनुसार यस्ता पूर्वाधारका अत्यावश्यक साधन प्रति चासो नभए तापनि स्थानीय तहका प्रमुख/उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतका लागि सुविधायुक्त सवारी साधन प्रसस्तै देखिन्छन् ।

लमजुङमा आठ वटा स्थानीय तह छन् । तीमध्ये बेसीशहर नगरपालिकामा मात्र एउटा अग्नि नियन्त्रणका लागि दमकलको व्यवस्था छ । अन्य स्थानीय तहमा यस्तो दुःखद तथा आपतको बेलामा आवश्यक पर्ने दमकलको व्यवस्था गरिएको छैन । दमकल पाल्ने खर्च बढी हुने र आम्दानी कम हुने पालिकाका लागि त्यो पाल्न कठिन हुने बताउँदै आएका छन् । 

No comments:

Post a Comment