अन्तरङ्ग संवाददाता
बेसीशहर– धेरै वर्षको अन्तरालपछि लमजुङ जिल्लामा आयोजना गरिएको जिल्लास्तरीय खुल्ला लोक दोहोरी प्रतियोगितामा नमूना लायक रह्यो । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लमजुङको आयोजनामा भएको उक्त प्रतियोगितामा आयोजक टिम पहिलो भएको छ । सो प्रतियोगिताको फाइनलमा भएको प्रतिस्पर्धामा एक अंकको फरकले सुन्दरबजार नगरपालिकाको समूहलाई हराउँदै आयोजक समूह फागुन २२ गते पहिलो भएको हो ।
जम्मा १२ समूहले भाग लिएको उक्त लोकदोहोरी प्रतियोगिताको फाइनल चरणमा आयोजक टिमकोतर्फबाट सचिव प्रशान्त तामाङ र सदस्य प्रिति आलेले नेतृत्व गर्नु भएको थियो । दोस्रो हुने सुन्दरबजार नगरपालिकातर्फ पार्वती आले र विनोद धितालले गायन टोलीको नेतृत्व गर्नु भएको थियो । अत्यन्तै शिष्ट, शालिन शब्दमा सभ्य तौरतारिकबाट प्रस्तुत गरिएको फाइनल प्रतियोगितामा एक टोलीलाई १०÷१० टुक्का गाउन दिइएको थियो । सो प्रतियोगितामा दर्शक दीर्घाबाट मन्त्र मुग्ध भएर सुनेका स्रोताले समेत यही टिम पहिलो हुन्छ भनेर आंकलन गर्न नसकेको लमजुङ रत्न साप्ताहिकका प्रकाशक एवम् समाचार संयोजक सुधा ढकालले बताउनु भयो ।
निर्णायक समितिका संयोजक दाहालले निर्णय सुनाउँदै आफूहरूले राम्र्रै राम्रोका बीचमा नराम्रो खोजेर मूल्यांकन गरी नतिजा तयार गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रतिष्पर्धा निकै उच्चकोटीको, दुवैतर्फको प्रस्तुति दमदार रह्यो । यो प्रस्तुतिले लोकदोहारीका क्षेत्रमा नयाँ आयाम थप्ने काम गरेको छ, यो उपमा म केन्द्रको बैठकमा समते प्रस्तुत गर्नेछु ।’ आफूहरूलाई निर्णय गर्न निकै कठिन भएको र यो अपजसे कार्य पनि हो भन्दै मात्र एक अंकको फरकमा पहिलो र दोस्रो छुट्याएका छौं भन्दै दाहालले पहिलो हुने आयोजक टिमले ७१५ र दोस्रो हुने सुन्दरबजारको टिमले ७१४ अंक पाएको उल्लेख गर्नु भयो ।
उक्त प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल संयोजक रहेको निर्णायक मण्डलमा उक्त प्रतिष्ठानका केन्द्रीय सदस्य तारानाथ आचार्य, प्रतिष्ठानको गण्डकी प्रदेशका सचिव राजकुमार कार्की र प्रतिष्ठानको जिल्ला शाखा लमजुङका निवर्तमान अध्यक्ष दीपक पौडेल सदस्य हुनुहुन्थ्यो ।
पहिलो हुने टिमले नगद १० हजार र प्रमाणपत्रका साथ प्रदेशस्तरमा यही फागुन २९ गते गरिने प्रतियोगितामा भाग लिने अवसर पाएको आयोजक प्रतिष्ठानका जिल्ला अध्यक्ष अनुज अधिकारीले बताउनु भयो। उहाँले भन्नुभयो ‘दोस्रो हुने टिमलाई नगद ५ हजार, तेस्रो हुने दुई समूह बेसीशहर नगरपालिका र क्ब्होलासोथर गाउँपालिकालाई २ हजार पाँच सयका दरले नगद र प्रमाणपत्र प्रदान गरिएको छ।’ ती टिममा क्रमशः प्रतिष्ठानका प्रथम उपाध्यक्ष टस तमु र कार्यकारी सदस्य सरु सुनार तथा शर्र्मिला थापा र चिजकुमार राउतले भाग लिनु भएको थियो । त्यस्तै, उत्कृष्ठ गायकमा पार्वती आले र सुरज दुतराज तथा उत्कृष्ठ स्वरमा पूजा परियार पुरस्कृत हुनुभएको छ । त्यसैगरी, चिति संस्कृति कला केन्द्रका विशाल विकलाई नवोदित प्रतिभा पुरस्कार प्रदान गरिएको छ । विजयी कलाकारलाई कार्यक्रम अवधिभर बसेर गीत सुन्नुभएका प्रमुख अतिथि रहनु भएका बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो ।
पुरस्कार वितरण पछि अर्यालले लोक संस्कृतिको संरक्षण गर्ने कार्यमा स्थानीय तहको समेत दायित्व हो भन्ने कर्तव्य बोध गरेकै कारणले कार्यक्रममा सहयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नगरपालिकामा जन्म र कर्मथलो भएका कलाकर्मी तथा साहित्यकारलाई सम्मान गर्ने योजना रहेको र पालिकाको स्थापना दिवसमा उक्त पुरस्कार वितरण गर्नेछौं ।’
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले लोक संस्कृति र राष्ट्रियता एक अर्काका पूरक भएको बताउँदै यस्ता मौलिक वस्तुको संरक्षण र प्रवद्र्धन गर्नु हामी सबैको कर्तव्य हो भन्दै कार्यक्रम उत्कृष्ठ रहेको भन्दै प्रशंसा गर्नुभयो ।
उक्त अवसरमा अग्रज गायिका माया गुरुङ र चर्चित राष्ट्रिय गायक राजन परियारले ठाडोभाको दमदार प्रस्तुति गरेका थिए । त्यसैगरी कार्यक्रमको बीच बीचमा विभिन्न नृत्य प्रदर्शन गरिएको थियो ।
आयोजक प्रतिष्ठानका जिल्ला अध्यक्ष अनुज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष टस गुरुङले र सञ्चालन जिल्ला सचिव प्रशान्त तामाङ, सहसचिव सविन गुरुङले सञ्चालन गर्नु भएको थियो ।

No comments:
Post a Comment