तीन दिने मोतिविन्दु केन्द्रीत आँखा शिविर शुरु, पहिलो दिन १९४ जनाले लिए सेवा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, March 21, 2021

तीन दिने मोतिविन्दु केन्द्रीत आँखा शिविर शुरु, पहिलो दिन १९४ जनाले लिए सेवा

 अन्तरङ्ग संवाददाता

उदीपुर(लमजुङ)– यहाँ स्थित जनकल्याण मावि जुनियर रेडक्रस सर्कल र नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालको आयोजनामा सञ्चालन गरिएको तीन दिने मोतिविन्दू केन्द्रीत आँखा शिविरको आज चैत ८ गते शुरु गरिुएको छ । बेसीशहर नगरपालिकाका मेयर गुमानजसिंह अर्यालले एक समारोहका बीच शिविरको उदघाटन गर्नु भएको हो । 

उहाँले यस्ता शिविर सञ्चालन प्रशंसनीय र उदाहरणीय कार्य भएको बताउँदै जुनियर रेडक्रस सर्कलले २०२१ सालदेखि यस्ता कार्यमा योगदान गर्दै आएको स्मरण गर्नु भयो । स्थानीय तह बन्नु अघि र पछिका कामको मूल्यांकन गरी काम भए नभएको निष्कर्ष निकाल्नु पर्ने औंल्याउँदै मेयर अर्यालले महत्वाकांक्षा अनुसार जे जति हुनुपर्ने हो त्यति भएको छैन होला तर केही भएन भन्ने होइन भन्नुभयो । उहाँले नगरपाकिलाका सबै वडाको काम पारदर्शी रहेको औंल्याउँदै आजका दिनसम्म कुनै पनि वडाध्यक्ष पैसाका मामलामा बदनाम हुनुभएको छैन, यो पनि एक उपलब्धी हो भन्दै उहाँले यो उपलब्धी संघीयताले ल्याएको हो भन्नुभयो । 

उक्त कार्यक्रममा रेडक्रसका जिल्ला सभापति दिपक बराल,  बेसीशहर नगरपाकिला– १ का वडाध्यक्ष बलराम श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण अधिकारी, शिक्षक अभिभावक संघ एवम् सोमदेव– दयादेव अक्षयकोषका संरक्षक शरणहरि जोशी, डा. रञ्जित शाह सहितले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 

जुरेस जनकल्याण माविका अध्यक्ष सृष्टिका पाण्डेको अध्यक्षामा भएको कार्यक्रममा सोही माविका प्रधानाध्यापक सूर्यबहादुर अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने शिक्षक नायक बद्री खनालले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

दिउँसो अवेर गरी सञ्चालन गरिएको पहिलो दिनमा १९४ जनाले आँखाको जाँच गरेको उक्त माविका शिक्षक गोविन्दप्रसाद अधिकारीले बताउनु भयो । उहाँका अनुसार मोतिया विन्दूको शल्यक्रियाका लागि ३७ जनाको छनौट भएको छ । 

मोतिया विन्दूको शल्यक्रिया भोलि र पर्सी सोही माविमा सञ्चालन हुने चिकित्सक टिममा आउनु भएकी डा. आस्मा केसीले बताउनु भयो । उहाँका अनुसार आँखा जाँच पछि केहीलाई आवश्यकता अनुसारको औषधि निःशुल्क दिइएको छ भने चश्माको हकमा भरतपुर आँखा अस्पतालकै मूल्यमा उपलब्ध गराईएको छ ।    

No comments:

Post a Comment