अन्तरङ्ग संवाददाता
लमजुङ– लमजुङको दोर्दी गाउँपालिकामा सञ्चालन गरिएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी गत वर्षकै विजेता लक्ष्मी मा.वि. श्रीमञ्ज्याङले जितेको छ । कुल २८ वटा स्वर्ण पदकका बीच गराइएको उक्त प्रतियोगितामा ९ स्वर्ण पदक जितेर लक्ष्मी माविले उपाधि हासिल गर्न सफल भएको हो ।
दोर्दी गाउँपालिका– ४ स्थित पालिकाको खेलमैदानमा सञ्चालन गरिएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ९ स्वर्णपदक, रजत र कास्यपदक ७÷७ सहित लक्ष्मी माविले उपाधि जित्न सफल भएको हो । पाचोक मावि पाचोकले ५ स्वर्णपदक, ३ रजतपदक र ४ कास्यपदकका साथ द्वितीय भएको सो प्रतियोगिताको आयोजक दोर्दी गाउँपालिकाको शिक्षा शाखाका प्रमुख भीमप्रसाद लामिछानेले बताउनु भयो । उहाँका अनुसार ४ स्वर्णपदक, ८ रजतपदक जितेर चैतन्यदय सत्य मावि नौथर तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरूलाई क्रमशः ५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र, ३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र र तृतीयलाई २ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिल घलेले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा गाउँपालिकामा रहेका ८ वटा मा. वि.ले भाग लिएका थिए । प्रतियोगिता १४ विधामा सञ्चालन गरिएको थियोे ।
सटफुट, ज्याबलिङ थ्रो, लङ जम्प, त्रिपल जम्प, हाई जम्प, १००, २००, ४००, ८००, १ हजार ५०० र ३ हजार मिटरको दौड, १०० इन्टु ४ रिले, ४०० इन्टु ४ रिले, भलिबल प्रतियोगिता सञ्चालन गरिएको पालिकाको शिक्षा शाखाका प्रमुख लामिछानेले बताउनु भयो । उहाँका अनुसार बिजयी विद्यालयलाई दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङ, उपाध्यक्ष दिलबहादुर घले, प्रशिक्षक सितमराज गुरुङ र तोकबहादुर गुरुङले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भयो । सो अवसरमा प्रतियोगितामा सहभागि विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा खेलकुद शिक्षहरूको सहभागिता थियो ।
उक्त प्रतियोगिताको उदघाटन संघीय संसदका सदस्य देवप्रसाद गुरुङले गर्नु भएको थियो भने गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको थियो । उदघाटन कार्यक्रमको सञ्चालन पालिकाका सूचना अधिकारी धर्म गुरुङले र समापनमा गाउँपालिकाको शिक्षा शाखाका प्रमुख भीमप्रसाद लामिछानेले गर्नु भएको थियो ।
उक्त प्रतियोगितामा जयदेव माविले एउटा पनि स्वर्ण र रजत पदक जित्न सकेन भने कास्य ५ वटा जितेको थियो । त्यस्तै, पहिलो वर्षको विजेता फलेनी माविले स्वर्ण चार रजत एक र कास्य पदक ७ वटा जितेर चौथो भएको थियो । यसैगरी, बाल कल्याण माविले एक मात्र स्वर्ण पदक जित्यो भने ५ रजत पदक जितेको थियो । उसले कास्य पदक कुनै जितेन । स्वर्ण पदक दुई र रजत तथा कास्य ३÷३ पदक लक्ष्मीनारायण माविले जितेको थियो भने सूयोदय माविले तीन स्वर्ण, रजत र कास्य २÷२ पदक जित्न सफल भएको थियो ।
स्मरणीय छ, गतबर्ष पनि राष्ट्रपति रनिङ शिल्डको उपाधी लक्ष्मी मावि श्रीमञ्ज्याङले नै जितेको थियो । त्यसअघिको बर्ष फलेनी मा.वि.ले सो उपाधी जितेको थियो ।


No comments:
Post a Comment