अन्तरङ्गको वर्ष– २९, अंक– १३, मिति कार्तिक २७ गते, २०७७ मा प्रकाशित
विश्वको सर्वशक्तिमान मुलुक अमेरिकामा राष्ट्रपतिका लागि अघिल्लो साता भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका जो बाइडनले विजयले विश्वको राजनीतिक वृत्तमा मात्र होइन आर्थिक सामाजिक क्षेत्रमा प्रभावित तुल्याएको छ । परम्परावादी सोच र अनुदारवादी डोनाल्ड ट्रम्पको चारवर्षे कार्यकालमा भएका कतिपय निर्णयहरुले विश्वका अधिकांश मुलुकहरु मात्र होइन स्वयं अमेरिकासमेत प्रभावित बन्न पुगेको छ । नेपाल अमेरिकाको पुरानो मित्र राष्ट्र र ठूलो सहयोग उपलब्ध गराउने दाता पनि हो । त्यसैले त्यहाँको निर्वाचनबाट आउने नयाँ सरकारको नीति नेपालजस्ता मुलुकका लागि महत्वपूर्ण बन्ने गर्दछ । यस लेखमा नवनिर्वाचित राष्ट्रपति बाइडन र उनको पार्टीले गाँजाको विषयमा लिने नीति हाम्रा लागि कत्तिको सरोकार राख्दछ भन्ने विषयलाई उजारगर गर्न खोजिएको छ ।
बाइडनले निर्वाचन प्रचारको क्रममै आफूले निर्वाचन जितेपछि अमेरिकाका सबै राज्यमा गाँजालाई वैधानिकता प्रदान गर्ने उद्घोष गरेका थिए । अहिले पनि त्यहाँका कतिपय राज्यमा गाँजालाई वैधानिकता दिइएको छ । अमेरिकामा सन् २०१४ मा गाँजाबारे रिसर्च गर्न विश्वविद्यालय र राज्यहरूलाई खुला गरियो । सन् २०१८ मा किसानहरूले राज्य सरकारमा दर्ता भएर मापदण्ड पूरा गरेर सिफारिस गरिएका गाँजाका प्रजाति खेती गर्न खुला गरियो । अमेरिकाका २२ राज्यले राज्यका कानुनअन्तर्गत गाँजाको प्रयोगलाई कानुनी बनाएका छन् । धेरै देशहरूमा डाक्टरको प्रेस्क्रिप्सनमा गाँजाका औषधिहरू कानुनी रूपमै प्रयोग गर्न पनि पाइन्छ । अमेरिकाका ३३ राज्यमा गाँजालाई औषधिको रुपमा प्रयोग गर्ने नियम छ भने ११ वटा राज्यमा मनोरञ्जनात्मक प्रयोजनका लागि खुला गरिएको छर । यसरी गाँजा खेती ४६ वटा राज्यले खुला गरिसकेका छन् भने चार राज्यले खुला गर्न मापदण्ड तर्जुमा गरिसकेका छैनन् । बाइडनको कार्यकालमा गाँजालाई राष्ट्रियस्तरमा औषधीय र मनारेन्जनको रुपमा मान्यता प्रदान गरिने विश्वास गरिएको छ ।
गाँजाको अन्तराष्ट्रिय बजार निकै राम्रो छ । अमेरिकाको एक प्रतिष्ठित संस्था ग्रान्ड भ्यू रिसर्चले हालसालै प्रकाशित गरेको रिपोर्टअनुसार वैधानिक रूपमा गाँजाको विश्व बजारको आकार सन् २०२७ सम्ममा अमेरिकन डलर ७३.६ अर्ब हुने अनुमान गरेको छ साथै सन् २०१९ मा उक्त बजारको आकार अमेरिकन डलर करिब १७.७ अर्ब रहेको थियो । गाँजाको प्रमुख अन्तराष्ट्रिय बजार उत्तर अमेरिकी मुलुकहरू संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिको रहेका छन् साथै युरोपमा समेत यसको
बजारको आकार वृद्धि हुँदै गएको छ । साथै भारतको फर्चुन बिजनेस इन्साइटले गरेको प्रक्षेपणअनुसार गाँजाको विश्व बजारको आकार सन् २०२६ मा अमेरिकी डलर ९७.३५ अर्ब हुने अनुमान गरेको छ ।नेपालमा गाँजाको प्रयोगलाई गैरकानूनी गराउन अमेरिकाको मुख्य हात रहेको छ । २०३३ सालअघिसम्म गाँजा एउटा कृषि बाली र आम्दानीको एक महत्वपूर्ण स्रोत थियो । ‘हाम्रा पूर्खाले गाँजालाई तरकारी र औषधिको रुपमा प्रयोग गर्थे। तामा, कपास र गाँजालाई नेपाली अर्थतन्त्रलाई ठूलो भरथेग गरेको थियो । २०औं शताब्दीमा तीन उत्पादनले नेपाललाई विश्व बजारमा परिचित गराएको थियो । दोस्रो विश्वयुद्धताका नेपालको गाँजा विश्वमा लोकप्रिय थियो । त्यतिखेर नेपाली किसानको मुख्य नगदेबाली गाँजा थियो ।
सन् १९६० को दशकमा अमेरिकामा परम्परागत धर्म, संस्कृति र जीवनशैलीलाई नमान्ने युवा अभियान हिप्पी संस्कृति विस्तार भएको थियो । हिप्पीहरू लामो कपाल पाल्ने, फरक लुगा लगाउने, गाँजाको धुवाँ उडाउने र आनन्द लिने गर्थे । नेपालमा सस्तो गाँजा पाइने हुँदा उनीहरू काठमाडौं आएर लामो समय बिताउँथे । युरोपियन र अमेरिकी देशहरूले आफ्ना देशका युवाहरू लागुऔषधमा लठ्ठिएर लामो समय बरालिन थालेपछि विश्वमै लागुऔषधविरुद्ध अभियान सञ्चालन गरे । नेपाल विभिन्न अन्तराष्ट्रिय सन्धि सम्झौतामा बाधिएको कारण उनीहरूको अभियानलाई साथ दियो । फलस्वरुप नेपालमा गाँजा उत्पादनमाथि रोक लगाउन थालियो ।
यसैगरी अमेरिकामा नेपालबाट गाँजा तस्करी भएको भन्दै अमेरिकाले नेपाल सरकारलाई नियन्त्रण गर्न दबाब दियो । सरकारबाट सन् १९७३ मा पसलहरूको लाइसेन्स रद्द ग¥यो भने १९७६ को लागूऔषध नियन्त्रण ऐनले गाँजालाई पूर्ण प्रतिबन्ध लगायो । २०३३ मा लागू औषध ऐन बनेर गाँजालाई प्रतिबन्धित गर्नुपूर्व नेपालका विभिन्न भागहरुमा गाँजाको व्यावसायिक खेती नै हुने गरेको पाइन्छ । त्यस क्षेत्रका लागि सबैभन्दा प्रमुख नगदेबाली नै गाँजा खेती थियो र त्यसले त्यसक्षेत्रका वासिन्दाहरुको दैनिक गर्जो मात्रै हैन, अन्य आवश्यकताहरु पनि परिपूर्ति हुने गथ्र्याे । नेपालको अर्थतन्त्रमा विशेष महत्व राख्ने गाँजा खेतीमा समय क्रमसँगै प्रतिबन्ध लागेपछि राज्यको आम्दानीको स्रोत घट्नुको साथै जनताको जीविकोपार्जन कठिन हुँदा युवा जनशक्ति कामको खोजीमा विदेशिने क्रम बढ्न थालेको हो ।
गाँजाको अन्तराष्ट्रिय बजार निकै राम्रो छ । अमेरिकाको एक प्रतिष्ठित संस्था ग्रान्ड भ्यू रिसर्चले हालसालै प्रकाशित गरेको रिपोर्टअनुसार वैधानिक रूपमा गाँजाको विश्व बजारको आकार सन् २०२७ सम्ममा अमेरिकन डलर ७३.६ अर्ब हुने अनुमान गरेको छ साथै सन् २०१९ मा उक्त बजारको आकार अमेरिकन डलर करिब १७.७ अर्ब रहेको थियो । गाँजाको प्रमुख अन्तराष्ट्रिय बजार उत्तर अमेरिकी मुलुकहरू संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिको रहेका छन् साथै युरोपमा समेत यसको बजारको आकार वृद्धि हुँदै गएको छ । साथै भारतको फर्चुन बिजनेस इन्साइटले गरेको प्रक्षेपणअनुसार गाँजाको विश्व बजारको आकार सन् २०२६ मा अमेरिकी डलर ९७.३५ अर्ब हुने अनुमान गरेको छ ।
सन् २०१७ मा मात्र ७.७ बिलियन अमेरिकी डलर कारोबार हुँदै गरेको विश्वको गाँजा कारोबार औसत वृद्धि ३७ प्रतिशत कायम गर्दै २०२३ सम्ममा ६५ बिलियन अमेरिकी डलर पुग्ने अनुमान छ । स्वास्थ्यलाभ र मनोरञ्जनका लागि खानामा समेत प्रयोग हुने गरी गाँजाले संसारभर कानुनी मान्यता पाउँदै गर्दा २०१७ मा ८.४ बिलियन अमेरिकी डलरको गाँजा हालिएको खाना र पेयको कारोबार भएको छ भने २०२२ सम्ममा २५ प्रतिशत वृद्धि भई २५.७ बिलियन यूएस डलरको गाँजा हालिएको खाना र पेयको कारोबार हुने अनुमान छ । विभिन्न स्रोतका रिपोर्टहरू केलाउँदा सात वर्षभित्रै संसारमा गाँजामा कुल बजार मूल्य १९४ बिलियन अमेरिकी डलर पुग्ने देखिन्छ ।
नेपाली कृषिलाई पुनर्जागरण गर्ने हो भने गाँजा खेती नै एक अचूक उपाय हो । गाउँमा नै बसेर आफ्नो बाँझो जमीनलाई सिँचित गर्दा लाखौं कमाउन सकिन्छ भन्ने विश्वास र आम्दानी गाउँमै बसीबसी आउन थाल्यो भने कसैलाई मातृभूमि छोडेर विदेशमा पसिना जानुपर्ने बाध्यता रहँदैन । अन्य मुलुकले जुन विधिबाट गाँजालाई औषधिको रुपमा मान्यता पाएका छन् त्यही विधिबाट नेपालमा पनि मान्यता दिन सकिन्छ । नेपाल गाँजा खेतीको प्रचुर सम्भावना भएको देश हो । तर विद्यमान कानूनले गाँजालाई लागूऔषधको रुपमा समावेश गरेकाले प्रहरी प्रशासनले गाँजाखेतीलाई नष्ट गर्ने गरेको छ । यसरी नष्ट गर्नु भनेको सरासर डलरलाई नष्ट गर्नु हो ।
नेपाललाई आर्थिक रुपमा सक्षम बनाउन र जनताको जीवनस्तर उकास्नका लागि गाँजा खेतीलाई वैधानिक बनाउनुको विकल्प छैन । गाँजा खुला हुने बित्तिकै, यसको खेतीले किसान खुसी हुन्छन्, व्यापार बढ्छ, घरेलु उद्योगहरू स्थापित हुन्छन्, रोजगारी बढ्छ, देशवासीहरूले घरेलु उत्पादन प्रयोग गर्न पाउँछन्, औषधिहरू निर्माण हुन्छन्, रोग नियन्त्रण गर्न सकिन्छ र देशमा अलिकति भए पनि समृद्धि बढ्छ । कानूनले बर्जित गरेपनि नेपालका केही जिल्लामा अवैध गाँजा उत्पादन भइरहेको छ र त्यसको फाइदा राज्य र किसानले नभएर विचौलियाहरुले उठाइरहेका छन् । गाँजा खेतीबाट दुई करोड पर्यटक ल्याउन सजिलै सकिन्छ । गाँजाको औषधीय गुण र आर्थिक सम्भावना चिनेर विकसित मुलुकहरू धमाधम ‘गाँजा–युगु’मा फर्किरहँदा नेपालमा पनि यसलाई खुला गर्नुपर्ने बहस शुरू भएको छ । संघीय संसद र बाग्मती प्रदेशसभामा गाँजासम्बन्धी विधेयक दर्ता गरिएको छ । आगामी अधिवेशनमा यस विधेयकलाई पारित गरी गाँजा खेतीलाई वैधानिकता दिन सकिएमा नेपालले समृद्धिको यात्रा छिटै तय गर्न सक्दछ ।
(लेखक राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक हुनुहुन्छ । –स.)

No comments:
Post a Comment