राजनीतिमा युवा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, August 15, 2020

राजनीतिमा युवा

🖉 राजन सुवेदी

१६ वर्षभन्दा माथि र ४० वर्षभन्दा तलको उमेर समूहको व्यक्ति नै खासमा युवा हो । यसो भन्दै गर्दा हामीले झेल्दै आएका राजनीतिक दलका कपाल फुलेका र केही दाँतसमेत झरेका नेताहरुलाई युवा नेताका रुपमा प्रस्तुत गरेको पाइए पनि त्यो चाकडीसिवाय केही होइन भन्नेमा दुई मत रहेन ।


हामीले राणा फालेको सुनेका  छौँ । निर्दलीय तथा निरङ्कुश  पञ्चायती व्यवस्था  फालेको पनि थाहा पायौँ र  २०६२÷०६३ को जनआन्दोलन  हुँदै लोकतन्त्र,  सङ्घीय गणतन्त्र स्थापना  भएको हामीले देखेका र  भोगेका छौँ । यी सबै  परिवर्तन  राजनीतिकै कारण  सम्भव भएको हो । २०१७  सालमा वी. पी. कोइराला  नेतृत्वको सरकारदेखि  देउवाले दरबारमा बुुझाएको  सबै वृत्तान्त र राजनीतिक  दलका कारण खिलराज रेग्मी  नेतृत्वको गैरराजनीतिक  दलको सरकार निर्माण  हुनुको  प्रमुख कारण पनि  राजनीति नै हो । अनेकौँ  अप्ठ्यारा र अनेकौँ विमतिका  बिच पनि विभिन्न अप्ठ्याराहरु  पार गर्दै  संविधान निर्माणमा पाएको  सफलताको कारण पनि  राजनीति नै हो ।

 

राजनीति वास्तवमा ठोस पीण्ड होइन र केही आकृतिको आकार बनाउने चिज पनि होइन । राजनीति कस्तो बनाउने, कुन शक्ति हावी हुने भन्ने कुरा नेतृत्वमा भर पर्छ । राजनीतिक भविष्य कस्तो होला भन्ने कुरामा पनि नेतृत्वकै विशिष्ट हात हुन्छ । समयलाई बुझ्न सक्ने क्षमता, विशेष परिस्थितिमा लिने निर्णय क्षमता, आफ्नो निर्णयमा अडिग, स्पष्ट, नैतिकवान्, विशिष्ट आचरण प्रस्तुत गर्न सक्ने क्षमता भएको व्यक्तिले नै राजनीतिमा सफलता प्राप्त गर्ने गरेका छन् ।

विशेष गरी वर्तमान राजनीतिक नेतृत्व हेर्ने हो भने पनि हिजो किशोर वा किशोरी हुँदा गरेको कामले स्थापित भएका नेताहरु आज राज्यको नेतृत्वमा हुनुहुुन्छ ।

विशेष गरी केही राजनीतिक अभ्यासहरु हेर्दा देशले ठूला ठूला सफलता प्राप्त गर्दा अत्यधिक मात्रामा युवाहरुले भूमिका खेलेको पाइन्छ । विशेष गरी आम राजनीतिक दलले भन्दा तिनका जनवर्गीय युवा सङ्गठनहरुको सक्रियतामा ठूला ठूला सफलताहरु प्राप्त गरेका तथ्यहरु भेटिन्छन् । 


नेपाली काङ्ग्रेसको आडमा भएका आन्दोलनहरु नेविसङ्घ, तरुण दल, मजदुर सङ्गठन आदि र नेपाल कम्युनिस्ट पार्टीका युवा सङ्गठन, विद्यार्थी सङ्गठनहरुको अतुलनीय योगदान पाइन्छ । विशेष गरी वर्तमान राजनीतिक नेतृत्व हेर्ने हो भने पनि हिजो किशोर वा किशोरी हुँदा गरेको कामले स्थापित भएका नेताहरु आज राज्यको नेतृत्वमा हुनुहुुन्छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन प्ररायु सङ्घको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो भने सम्माननीय विद्यादेवी भण्डारी अनेम सङ्घको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पनि नेपाल विद्यार्थी सङ्घको सभापति हुनुहुन्थ्यो । नेकपाका हालका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि युवावस्थामै राजनीतिक नेतृत्व प्रदान गरेर वैचारिक रुपमा दह्रो बन्नुभएको हो । खास गरी युवाहरुको कुरा उठाउँदा आम नेपालीको मुखमा झुण्डिएका पात्रहरु शङ्कर पोखरेल, घनश्याम भुसाल, योगेश भट्टराई, रवीन्द्र अधिकारी, जनार्दन शर्मा, गगन थापा, विश्वप्रकाश शर्मा, नवीना लामालगायत सयौँ व्यक्तिहरु युवा मोर्चाको नेतृत्व गरी स्थापित भएको पाइन्छ ।


पछिल्लो समय, खास गरी २०४६ सालपछि राजनीतिमा केही दूषित गन्ध मिसिन थालेको पाइएको छ । केही राजनीतिक दलहरुले देखाएका अकर्मण्यताका कारण राजनीतिमा खराबी देखिँदा राजनीतिमा युवा सक्रियतामा कमी हुँदै गएको आभास भएको छ । २०४६ सालपछि स्वतन्त्रताका नाममा केही उच्छृङ्खल गतिविधि हावी भए भने २०५२ देखि सुरु भएको जनयुद्धका कारण हजारौँ परिवार विस्थापित हुनुपर्दा त्यसको असर राजनीतिलगायत राज्यका सबै भागमा देखिएका छन् । केही तत्कालीन विद्रोही पक्षबाट विस्थपित हुन पुगे भने केही राज्य पक्षबाट विस्थापित हुन पुगे । आखिर जो जहाँबाट पीडित भए पनि नेपाल आमाका सन्तति पीडित भए । एउटा अप्ठ्यारोमा पर्दा अर्को रमाउने दिन पनि आए । एउटा समस्यामा पर्दा अर्को खुसी हुने दिन पनि आए । यी सबै दूषित राजनीतिका कारणबाट भएका हुन् भन्नेमा कुनै शङ्का रहेन ।


१ करोड युवाभित्र राजनीतिमार्फत् देशलाई नेतृत्व दिन सक्ने युवाहरु, स्वास्थ्य, कृषि, जलविद्युत्, पशुपालन, पर्यटनलगायतका क्षेत्रमा योगदान गर्न सक्ने युवाहरु हरेक दिन नेपाल र नेपालीपनलाई शिरमा सजाउँदै विदेशीलाई कौडीको भाउमा आफ्नो अनमोल पसिना बेच्न विवश छन् । 

आफूलाई प्रजातन्त्रको हिमायती ठान्नेहरु राज्यको नेतृ्त्वमा पुगेपछि खराब नियत राख्दै आफ्ना परिवार, आफ्ना कार्यकर्ताहरु पोस्न थालेपछि नीति, नियम कागजको पानामा सीमित गर्दै न्याय–निसाफलाई खुलेआम बलात्कार गर्न जुन दिन थालियो, त्यही दिनबाट राजनीतिमा प्रजातान्त्रिक विचार राख्ने देशभक्त युवाहरु कमी हुँदै गए ।


मुक्ति वा मृत्युको कसम खाई विशिष्ट दर्शनबाट ज्ञान लिएकाहरु पनि जनताको सेवाभन्दा बढी आफू र आफ्नालाई पोस्न थालेपछि हिजो दुई खुट्टामा दुईथरि चप्पल लाउनेहरु आज करोडौँको घर, गाडी र नोकरचाकर राख्न थालेपछि यहाँबाट देशभक्त, क्रान्तिकारी युवा जोस जाँगरले सजिएका नौजवानहरु अहिले राजनीतिको पुछारमा छन् र राजनीतिमा युवा सक्रियता कम हुँदै गएको छ । 


यी र यस्ता गतिविधिहरु हुँदा हुँदै पनि अरु केही तत्वहरु पनि छन्, जो युवाहरुलाई राजनीतिबाट टाढा धकेल्दै छन् । मुलुकमा लामो समय नेतृत्व गर्नेहरुले देशमा भएका उद्योग, कलकारखानाहरु बेचेर खाएपछि देशमा रोजगारीको वातावरण शून्य हुँदै जान थाल्यो । निजी क्षेत्रले लगानी गर्ने वातावरण बनेन । गोरखकाली रबर उद्योग, बाँसबारी छाला उद्योग कारखाना, ट्रली बस, भृकुटी कागज कारखाना, जनकपुर चुरोट कारखानालगायत सखाप भएपछि आम युवाहरु आफ्ना पसिना बेच्नका लागि बाध्य भएर विदेसिनुप¥यो । सक्रिय राजनीति त के, आफ्नो मतसमेत राख्न नपाउने अवस्थामा करिब १ करोड युवाहरु अहिले आफ्नो भूमिभन्दा बाहिर छन् । ती १ करोड युवाभित्र राजनीतिमार्फत् देशलाई नेतृत्व दिन सक्ने युवाहरु, स्वास्थ्य, कृषि, जलविद्युत्, पशुपालन, पर्यटनलगायतका क्षेत्रमा योगदान गर्न सक्ने युवाहरु हरेक दिन नेपाल र नेपालीपनलाई शिरमा सजाउँदै विदेशीलाई कौडीको भाउमा आफ्नो अनमोल पसिना बेच्न विवश छन् । स्वदेशमा रहेका युवा शक्तिले पनि सही मार्गदर्शन र अवसरको अभावमा अनेकौँ गलत बाटाहरु समात्न बाध्य छन् । तिनीहरुको वृत्तिविकासको वास्तविक चासो कसले राख्ने हो ? स्वावलम्बी युवाहरु स्वदेशमै बेरोजगार छन् । लोभी, पापी र पहुँचका भरमा केही युवाहरुले क्षमताभन्दा बढीको अवसर प्राप्त गरेका छन् ।


यति हुँदा हुँदै पनि केही आशा राख्ने ठाउँ भने देखिएका छन् । २०७४ सालमा भएको ३ तहको निर्वाचनबाट निर्वाचित उम्मेद्वारहरुमध्ये अधिक युवा उम्मेद्वारहरु सफल छन्, जो जनमुखी पनि देखिएका छन् । स्थानीय तहको सहयोगमा कृषि, पशुपालन, साना उद्योगमा स्थापित र सफल युवाहरु पनि देखिन थालेका छन् । सहकारी तथा अन्य बैङ्किङ कार्यक्रममार्फत् उद्योग, पर्यटन, जलविद्युत्, कृषिलगायत क्षेत्रमा स्थापित युवाहरु पनि बाक्लै देखिन थालेका छन् । विदेश गएर काम सिकी स्वदेश फर्केर उद्योग गर्ने युवाहरु पनि भेटिन थालेका छन् । आफ्नो अध्ययन गरी आफू व्यवसाय गर्दै विभिन्न राजनीतिक दलमा सहभागी हुँदै राजनीतिमा पनि सफल भएका युवाहरु पनि बाक्लै भेटिन थालेका छन् । निराशाका बादल फाटेर पूर्वबाट आशाको भारी बोकी सूर्यका किरणहरु आम नेपालीको भित्री मनसम्म पस्न थालेको आभास पनि भएको छ । स्वदेशमा केही निजी उद्योग र सरकारको लगानीमा ठूला ठूला योजनाहरु सुरु भएर पनि केही सकिए भने केही सम्पन्न हुने अवस्थामा छन् । हजारौँ योजनाहरु सुरु हुने अवस्थामा छन् । यी यस्ता आयोजनामा पनि करिब करिब ९० प्रतिशत युवाको उपस्थिति र नेतृत्व रहेको पाइन्छ । 


विशेष अवस्थामा प्रतिस्पर्धाबाट जन्मेको महत्वाकाङ्क्षाले व्यक्तिगत स्वार्थमा टेवा पु¥याउँछ । सत्ता र पद प्राप्तिका लागि जस्तोसुकै अनैतिक काम गर्ने राजनीतिक दल र तिनका नेता कार्यकर्ता नहुने हो भने देश समृद्धिको बाटोमा जाने छ । देशलाई समृद्धिको बाटोमा हिँडाउने काम यिनै आम स्वावलम्बी युवाहरुले गर्ने छन् र सम्पूर्ण नेपालीको भित्री मनदेखि राजनीतिमा विश्वास पलाउने छ । युवाहरु राजनीतिबाट सन्तुष्ट हुँदा मात्र निर्माण हुने छ– सुखी नेपाली, समृद्ध नेपाल ।

rajansubedi769@gmail.com




No comments:

Post a Comment