लमजुङ । लमजुङमा मौरी किसानका नेताहरूले आफ्नै सदस्यको शोषण गरेको रहस्य खुलेको छ । मौरी पालन महासंघका केन्द्रीय कोषाध्यक्ष जनक तिवारी, जिल्ला अध्यक्ष ललित गुरुङले जिल्लाका मौरी उत्पादक किसानको प्रति मौरी घर पाँच सयका दरले भुक्तानी नदिई शोषण गरेका हुन् ।
नेपाल मौरी पालन महासंघका केन्द्रीय कोषाध्यक्ष जनक तिवारी, जिल्ला अध्यक्ष ललित गुरुङको मिलेमतोमा उक्त कार्य भएको देखिन्छ । कोषाध्यक्ष तिवारीले मौरी उत्पादक किसानसँग ९ हजारका दरले मौरी सहितको घारको भुक्तानी दिने भन्दै खरिद गरी लगेको तर भुक्तानी गर्ने समयमा भने प्रति घार आठ हजार पाँच सय रुपैयाँमात्र दिएका सम्बद्ध किसानले बताएका छन् । चिति क्षेत्रबाट खरिद गरेका मौरी ५० घार मौरी सबै दोर्दी गाउँपालिकाको दुवार गाउँमा पठाइएको पाइएको छ ।
चितिबाट मौरी विक्री गर्ने किसानहरूमा जनक तिवारी आफू समेत छन् भने अन्य किसानमा उजेली श्रेष्ठ, रधुवीर श्रेष्ठ, सरिता तिवारी, रुद्रनिधि तिवारी आदि भएको जानकारीमा आएको छ । मूल्य खदिर गर्ने समयमा प्रतिगोटा नौ हजार दिने भन्दै खरिद गरी लगेको तर पैसा तिर्ने समयमा प्रति घार आठ हजार पाँच सयका दरले मात्र भुक्तानी पठाएको पीडित बेसीशहर नगरपालिका- ११ चितिकी सविता तिवारीले बताइन् ।
केन्द्रीय कोषाध्यक्ष तिवारीले जिल्ला अध्यक्ष गुरुङमार्फत ती घार दोर्दी गाउँपालिकामा विक्री गर्दा प्रति घार नौ हजार पाँच सयका दरले विक्री गरेको दोर्दी गाउँपालिकाको कृषि शाखालाई विक्री गरेको गुरुङले बताएका छन् । उनले भने, ‘विक्री गरेको १० दिनभित्र मौरी भागेको खण्डमा बेहोर गर्ने र प्राविधिक खर्च(२ पटक) सहित नौ हजार पाँच सयमा विक्री गरेको हुँ ।’ यस बारेमा तपाईको सम्झौतामा उल्लेख छ त ? भन्ने जिज्ञासामा उनले प्रष्ट उत्तर दिन सकेनन् ।
यसबारेमा केन्द्रीय कोषाध्यक्ष तिवारीसँग सम्पर्क गर्दा ‘म आफैले आठ हजार पाँचसय भन्दा बढी पाएको छैन भने अन्यको जिम्मेवारी म कसरी हुन सक्छु ?’ भने । चितिका मोरी पालक किसानले तपाईको विश्वासमा प्रति घार नौ हजारको दरले बोलकबोल गरेको हुँदा दिएको भन्ने गुनासो छ नि ? भन्ने जिज्ञासामा ‘को हो त्यो भन्ने ? मेरा रोहबरमा ल्याउनु’ भने । जिल्लाको दररेट के कति हो नि मौरी एक घारको ? भन्ने जिज्ञासामा ‘त्यो मलाई थाहा छैन’ तिवारीले भने । ‘यहाँले यो जिल्लाबाट प्रतिनिधित्व गरेर केन्द्रमा गएको होइन ?’ भन्ने अर्को जिज्ञासामा उनले म चितवनको प्रतिनिधि हो भने ।
ललित गुरूङले आफू चितिमा मौरी खरिद गर्न नएको र कुनै किसानसँग सम्पर्क नभएको बताउँछन् । तर उनले आफ्नो नाउँमा सञ्चालन गरेको गहते मह उत्पादन उद्योगमार्फत ती मौरी खरिद गरी दोर्दी गाउँपालिकालाई विक्री गरेका रहेछन् । ती मौरी दोर्दी गाउँपालिकाको दुवार गाउँमा वितरण गरिएका रहेछन् । त्यस गाउँमा रहेको दुवार मौरी पालक किसान समूहले ५० प्रतिशत सहुलियतमा गाउँपाकिलाबाट चार हजार सातसय ५० रुपैयाका दरले खरिद गरेको सो समूहका अध्यक्ष तुलबहादुर गुरुङले बताए । उनका अनुसार आफ्नो समूहले वडामार्फत ५० प्रतिशत सहुलियतमा ५० घार मौरी खरिद गरेको हो । त्यो रकम ढुवानी खर्चसहित हो उनले भने ।
दोर्दी गाउँपालिकाले टेण्डरमार्फत प्रतिघार नौ हजारका दरले खरिद गर्ने गरी ठेकेदारसँग सम्झौता गरेको दोर्दी गाउँपालिकाका ओमबहादुर गुरुङले बताए । उनका अनुसार नौ हजार मूल्य ढुवानी सहितको हो । उनले भने, ‘यस कार्यक्रमको जिम्मेवार गाउँपालिकाको कृषि शाखाका प्रमुख गोविन्द सेढाई भएको हुँदा उनीसँग बुझ्नु होला ।’ सो पालिकामा मौरी दिने ठेकेदार उनै ललित गुरुङ हुन् । कृषि शाखाका प्रमुख गोविन्द सेढाईले प्रति घार नौ हजार पाँच सयमै खरिद गरेको बताए । मौरी पालक किसानले त आठ हजार पाँच सयभन्दा नपाएको गुनासो छ नि ? भन्ने जिज्ञासामा ‘त्यो हाम्रो सरोकारको विषय होइन, ठेकेदार जान्दछ’ सेढाइले भने ।
२०६२ सालदेखि लमजुङमा मौरी पालक संघको शाखा सञ्चालनमा छ । शाखाका पदाधिकारी आफैले मौरी घारको मूल्य तोक्ने, आफै खरिद गर्ने र आफै बिक्री गर्ने गरिआएको विगतका वर्षमा पनि गुनासो सुनिने गरेकोमा यो वर्ष त्यो सार्वजनिक भएको हो ।
No comments:
Post a Comment