वि.पी.ले भनेका रहेछन् ‘म राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी हुँ ।’ त्यस्तै उनलाई फ्राइडवाट प्रभावित पनि भन्ने गरिन्छ अर्थात उनका साहित्यिक रचनामा यौनको कुरा आउंदछ । वि.पी. व्यक्तिगत रूपमा साहित्यको सोचमा अराजकतावादी थिए होलान् तर उनका साहित्यहरूले सामाजिक परिवेसलाई प्रगतिशील सोचबाट हेरिएको देखाउंदछन् र अन्यायको विरुद्धमा साहित्यलाई प्रयोग गरिएको पाइन्छ । वि.पी.को सुम्निमा उपन्यासमा फरक संस्कृतिको मिलन र त्यसका प्रभावलाई उल्लेख गर्दै सांस्कृतिक र लैंगिक समानतालाई उजागर गरिएको छ । तीन घुम्तीमा वि.पी.ले महिलाप्रति भएको अन्यायको राम्रोसंग समाजलाई सजग गरेका छन् । मोदिआइन तथा दोषि चस्मामा समेत वि.पी.ले जहिले पनि अन्यायको विरोधलाई साहित्यको प्रयोग गरेको प्रष्ट देखिन्छ । अन्य उपन्यास, कथाहरूमा पनि समाजमा रहेका विसंगतिलाई उजागर गरिएको छ ।
मोदिआइन र हिटलर र यहुदी(जो अपूणर् उपन्यास हो)मा पनि धेरै समानता देखिन्छ । मोदिआइनमा महाभारतको युद्धको कारणले परिवारसमेतमा अविश्वास बढेको, चिन्ता छाएको समेतका तथ्यलाई पारिवारिक परिवेशको प्रयोग गरेर उल्लेख गरिएको छ भने हिटलर र यहुदीमा जातीय घृणाको कारणले देखिने सामाजिक पिडा, उत्पीडनलाई राम्रोसंग वि.पी.ले उतारेका छन् । हिटल र यहुदीले गल्ती पूर्वजले गर्ने र त्यसको पिडा र घृणा सन्तानहरूमा रहेको देखाएको छ । के गलत गर्नेका सन्तानहरू गलतै हुन्छन् ? यो सोच्न बाध्य पारेको छ त्यो उपन्यासले ।
नेपालको वर्तमान सन्दर्भमा पनि यो उत्तिकै सान्दर्भिक छ । यथार्थमा जातीय, लैंगिक धार्मिक समेतका असमानताहरूको अन्त्य त आवश्यक छ, कसैले पनि समस्या भएमा समाधान गर्नु पर्दछ तर समस्या समाधान गर्न र समानता दिन भन्दा आगोमा तेल थप्ने कार्य गर्न हुंदैन भन्ने प्रष्ट धारणा उनका ती कृतिमा देखिन्छन् । उनको यो विचार माओवादी हिंसा हुन भन्दा धेरै पहिलाको हो, लक्ष्यको लागि भनेर जनतालाई निहित राजनीतिक स्वार्थ पुरा गर्न खोजेमा समाजमा अकल्पनीय क्षति हुने उनका पूर्वानुमान र धारणा कालजयी हुन् भन्न सकिन्छ ।
वि.पी.ले जीवनको अन्त्य तिर कुन रुपमा आफूलाई संझिइयोस् भन्ने चाहनु हुन्छ ? भन्ने प्रश्नहरूमा आंफूलाई विशेष रुपमा सम्झनु पर्ने नभएको र आंफूले कर्तव्यमात्र गरेको जस्ता धारणा राखेकोले उनको चाहना असल मानिस बन्नेमा नै केन्द्रित रहेको भन्ने देखिन्छ । यसबाट पनि पदको सफलता र असफलता भन्दा महत्वपूणर् विषय भनेका सही लक्ष्यको छनौट र त्यसमा समर्पण हो भन्ने देखिन्छ । सफलता महत्वपूणर् नहुने मात्र होइन कहिले कांही छनौट गलत भएमा सफलता नै अभिसाप पनि हुन सक्दछ । के हिटलर र मुसोलिनीका सफलताहरूलाई हामी उचित मान्न सक्दछौं ? के इदिअमिन, ज्याउल हक आदिका सत्ता प्राप्ती हामीलाई राम्रो लाग्दछ ? त्यस्ता कार्य सफल हुनुको औचित्य स्थापित हुन सक्दैन । त्यसैले वि.पी.का अनुसार सफलताको पूर्व सर्त जनहित, लोकतन्त्र, विकास, मेलमिलाप रहनु पर्दछ भन्ने थियो । जनताको विपक्षमा रहेर कसैले प्राप्त गरेको सफलता वि.पी.लाई स्वीकार्य थिएन । वि.पी.ले चाहेको भए महेन्द्र राजालाई सहयोग गरेर लामो समय प्रधानमन्त्री बन्न सक्ने थिए । तर उनको लक्ष्य सत्ता होइन जनताको हित रह्यो र यो नै उनको ठूलो सम्पत्ति र जनताको लागि उपहार भयो ।
उनको सत्बिचार प्रतिको समर्पण, बौद्धिक विलक्षणता, क्रियाशीलता समेतले उनी सवैको लागि चिरस्मरणीय रहे । पदको लोभ बिहीन सोच तथा देश र समाज भन्दा व्यक्तिको हैसियत कम हुन्छ वा व्यक्ति देश र समाजको हितमा समर्पित हुन पर्दछ भन्ने वि.पी.को विचार हामी सवैका लागि अनुकरणको विषय हो । समानता, विकास वा शान्ति सबैको पूर्वाधार हुन् र ऐना लोकतन्त्र र बहुलवाद हो भन्ने वि.पी.को भनाई सधंैको लागि सबैको लागि कारगर छ । कांगे्रस जनताको हितको लागि काम गर्दछ तर त्यसो गरेकोले अन्य दलभन्दा विशेष अधिकारको माग गर्दैन भन्ने वि.पीको भनाईलाई लोकतन्त्र के हो भन्ने वुझ्नको लागि सहज परिभाषा हो । सुरुमा कम्यनिष्ट विचार र साहित्यमा उनको झुकाब रहेको पाइन्छ ।
कम्युनिष्ट विचार राम्रो लाग्दा लाग्दै पनि लोकतन्त्रको विरोधमा कम्युनिष्टहरूको धारणाले गर्दा वि.पी.ले कम्युनिजमले लोकतन्त्रलाई आत्मसात गर्न सकेन भने त्यो आत्मघाति र जनविरोधी हुन पुग्दछ भन्ने आसयका साथ कम्युनिजममा लोकतन्त्र थपेमा त्यो समाजवाद हुन्छ र नेपाली काँग्रेस समाजवादको पक्षमा छ भन्ने धारणा राखेको पनि उत्तिकै महत्वपणर् छ । तर राजनीतिज्ञले जहिले पनि आफ्नो काम गर्दै कान खुला गर्नु पर्दछ र नयाँ विचारलाई आत्मसात गर्न सक्नु पर्दछ भन्नु पनि वि.पी.का. अर्को महत्वपूणर् भनाई हो । यो भनाईले कुनै पनि वाद र विचारमा टाँसिने होइन समय अनुसार आएका नयाँ विचारहरूलाई आत्मसात गर्नु नै समाजवादको मुख्य लक्ष्य हो र समाजवादको लक्ष्य भनेको जनतालाई बढी भन्दा बढी सवै प्रकारका समानताहरू दिनु हो । त्यसको लागि नयाँ भन्दा नयाँ विचारको अवतरणले सहयोग पुर्याउन सक्दछ त्यसैले राजनीतिज्ञहरूले जनताको उच्चत्तम हितको लागि नयाँ विचार आउन सकोस् भन्नाका लागि सधैं तयार हुनु पर्दछ भन्ने देखाउंदछ । यो सोच लागु गर्ने सवै भन्दा उपयुक्त माध्यम भनेको लोकतान्त्रिक परिपाटी हो । तर यही क्रान्तिकारी सोच र धार वि.पी.को समयमा देशमा लागु हुन सकेन । नेपालमा राणा शासनको अन्त्य त भयो तर त्यसको स्थान राजसंस्थाले लियो ।
त्यस्तै वि.पी.को समाजवादप्रतिको अगाध आस्था भावनामा आधारितमात्र थिएन बरु प्रष्ट रुपरेखा पनि थिए । समाजवाद भनेको जनताको जीवनस्तर उठाउने माध्यम हो र समाजवाद समय सापेक्ष पनि हुन्छ तर जनताका निम्नत्तम आधारभुत आवश्यकता भने पुरा हुन पर्दछ । हरेक नेपाली उहाँको समयको आधारमा खान पुग्ने, घरमा एउटा दुहुनो गाई भएको, बच्चाबच्चीहरूलाई पढाउन सक्ने, बिमारी हुँदा उपचार गर्ने चिन्ता गर्नु नपर्ने हुनसक्नु पर्दछ र जनताको निम्नतम आवश्यकतामा सम्झौता नगरी विकाश बाँड्ने हो गरीवी बाँड्ने समाजवाद होइन । त्यसैले देशमा समाजवादलाई बढी लागु गर्न विकाश पनि बढी नै हुन पर्दछ भन्ने वि.पी.कोे धारणा नै नेपालको लागि मात्र होइन विश्वकै समाजवादको लागि कालजयी विचार हुन सक्दछ ।
वि.पी.ले आफूलाई इतिहासमा सम्झिने पात्रको रुपमा नलिए पनि उनी यो देशका सवैभन्दा सम्झन योग्य व्यक्ति मध्येका विचारक, योद्धा, नेता तथा समाज सुधारक भएको देखिएको छ ।
वि.पी.को महान कार्यका सहयात्रीहरूमा कृष्णप्रसाद भट्टराई, शुवणर् समसेर जवरा, महबिर समसेर जवरा, महेन्द्रनारायण निधी, गिरिजाप्रसाद कोइराला, सेख इद्रीस, रामनारायण सिंह, मंगलादेवी सिंह, सुशीला कोइराला, भिमबहादुर तामाङसमेत भएका र धेरै महान सपुतहरूले देश र समाजको लागि काम गरेको ज्यान दिएको, त्याग र बलिदान दिएकोमा हामी सवै नेपालीले यस अवस्थामा सवैलाई साझा रुपमा समेत स्मरण गर्दछौं । वि.पी. कोइरालाको सतवार्षिकीको सन्दर्भमा उनको देश र जनता तथा लोकतन्त्र प्रतिको प्रेमबाट हामीले पनि धेरै सिक्न सकौं ।
No comments:
Post a Comment