जबर्जस्ती बाटो खन्दा भीषण पहिरो : बिनामारेको दलित बस्ती नै विस्थापित - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, July 24, 2020

जबर्जस्ती बाटो खन्दा भीषण पहिरो : बिनामारेको दलित बस्ती नै विस्थापित

प्रकाश अधिकारी, 

बागलुङ । बुधबारदेखि परेको अविरल वर्षका कारण पहिरो खस्दा बिनामारेको दलित बस्ती नै जोखिममा परेको छ । जैमिनी नगरपालिका वडा नं. ५ साविकको वडा नं. ७ मसिनासँगै रहेको दलित बस्ती जोखिममा परेको हो ।

पहिरोले ४ दलित घरपरिवार विस्थापित भएका छ्न । पहिरोले जोखिममा परेका साविकको बिनामारे ७, मसिनाका धनबहादुर परियार, मङ्गले नेपाली, लालबहादुर नेपाली र टीकाराम नेपालीको परिवार विस्थापित भएका हुन्। जिल्ला समन्वय समिति, बागुलङका सदस्य तथा स्थानीय जनप्रतिनिधि राजेन्द्र केसीले जोखिममा रहेका परिवारलाई छिमेकीको घरगोठमा सारिएको जानकारी दिए । "कमजोर भूभाग रहेको घरको तल्लो भागमा २ वटा मोटरबाटोमा पहिरो खसेको छ । जतिबेला पनि विपत्ति आउन सक्छ !" घटना स्थलमै पुगेका केसीले भने, "तत्काल स्थानान्तरण गर्नुपर्ने देखिएकाले छिमेकीको घरगोठमा सारिएको छ ।"


विस्थापितलाई अस्थायी रूपमा स्थानान्तरण गरिएको भए पनि दिगो व्यवस्थापनका वडाले पहल गर्नुपर्ने पीडितले बताए । सेतै कपाल फुलेका, आँखा पनि नदेख्नेकान नै सुन्ने अन्दाजी ९० बर्षिय मङ्गले नेपालीले आँसु खसाल्दै सारङ्गी न्युजसँग भने, "अब त बाँच्ने आश पनि छैन । आजको रात नै अन्तिम रात होला जस्तो छ । टाठाबाठाले जबर्जस्ती मोटरबाटो खने, यस्तो विपत्ति आयो । बाबुम मरिहाले पनि मेरो सराप लाग्ने छ ।" 

जबर्जस्ती बाटो खन्दा दलित बस्ती जोखिममा परेको नेकपाका स्थानीय नेता तथा समाजसेवी कृष्णबहादुर हमाल स्वीकार्छन् । "मापदण्डअनुसार बाटो बनाउनुपर्ने भए पनि मानव बस्तीमा आइपर्ने जोखिम र सङ्कटलाई ध्यानमा राखेर खन्नुपर्ने कुरा गर्दा सडक निर्माण समितिले बेवास्ता गरी जथाभावी बाटो खन्यो" उनले भने, "जोखिम बस्तीको दिगो व्यवस्थापनको पूर्वतयारी नगरी बाटो खन्दा यस्ता विपत्ति आउने नै भयो।" ७१ वर्षीय वृद्ध धनबहादुर परियारले यो प्राकृतिक विपत्ति मात्रै नभएर मानवीय त्रुटिले आफू विस्थापित हुनुपरेको बताए । परियारले बिनासर्भे, स्थानीय नेताको स्वार्थअनुकूल बाटो खन्दा पहिरोले पुरै बस्ती नै बगाउने जोखिम बढेको बताए 

विकासको नाममा जोखिम न्यूनीकरण तथा वातावरणअनुकूल योजनाबिनै जबर्जस्ती मोटरबाटो खन्दा विकासभन्दा विनाश बढी हुने गरेको हमालको बुझाइ छ । पहिरोको जोखिमबारे सोध्दा वडा अध्यक्ष गोपालप्रसाद पौडेलले स्थानीय स्तरबाट कुनै जानकारी नआएको बताए । उनले भने, "अहिलेसम्म कुनै जानकारी आएको थिएन । जोखिम भएको भए अनुगमन गरेपछि मात्रै के गर्ने भन्न मिल्छ ।" अध्यक्ष पौडेलले घटना स्थलको बारेमा प्रहरीमा खबर गरेको जानकारी दिए । कुस्मीसेरा प्रहरी चौकीका सई रामप्रसाद सुवेदीले पहिरोको जोखिमबारे जानकारी आएको बताउँदै भोलि बिहानै मुचुल्काको लागि हवल्दारको टोली घटनास्थल पठाउने तयारी गरेको बताए । सुवेदीले बिनामारेका सिम्ले र बाँझाखेतमा पनि केही घर जोखिममा रहेको जानकारी आएकाले दुई वटा टोली तयारी अवस्थामा राखेको जानकारी दिए ।

 


No comments:

Post a Comment