भरत हरिजन 'प्रकृति'को कविता 'यात्रा राजमार्गको' - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, May 12, 2020

भरत हरिजन 'प्रकृति'को कविता 'यात्रा राजमार्गको'

यात्रा राजमार्गको (कविता)

                      - भरत हरिजन 'प्रकृति'

जीन्दगी रोकिदै चल्दै गर्‍यो
राजमार्गको बाटो हुदै निरन्तर जस्तै ।

मानो कहिल्यै सकिएन
पाथी कहिल्यै भरिएन
सधैँ ख़ाली जस्तै रह्यो
कहिले सरकार बिग्रियो
कहिले इन्जिन बिग्रियो
कहिले मन बिग्रियो
कहिले घरबर बिग्रियो ।

जिन्दगी कहिल्यै सप्रिएन
देश कहिल्यै बद्लिएन
र त यी यात्राहरु दुर उस्तै छन्
छाकहरु किस्ताबन्दीमा टारिरहे
दु:खहरु गुणात्मक बढिरहे
सुखहरु सपनामै टिकिरहे

समयलाई कहिल्यै नकार्न सकिएन
कहिले दु:ख सुख साट्दै हिँड्ने
खलाँसी बनायो यही समयले
कहिले कैयन जिन्दगीलाई
स्टेरिङको भरमा कुदाउने
डाइभर बनायो यही समयले

जीवन समयको ख़िलाफमै बित्यो
कसैको सुनुवाइ र इजलासमा बित्यो
राजमार्गहरुमा कतिकति क्लज, एक्सीलेटर र ब्रेक दबइयो होला
कतिकति गियर फेरियो होला
तर जीवन मात्र जिउन सकेँ
जिन्दगीको न कुनै क्लज दाब्न पाएँ
न कुनै एक्सिलेटर र ब्रेक नै दाब्न पाएँ
न कुनै गियरको भरमा कुदाउन नै सकेँ
अझै खुसी खोजिरहेछु राजमार्गहरुमा
कैयनको विकसित भरिया भएर ।।।
हालः अष्ट्रेलिया

No comments:

Post a Comment