नयाँ वर्षको विदाले दुई बालिकाको ज्यान लियो - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, April 16, 2021

नयाँ वर्षको विदाले दुई बालिकाको ज्यान लियो

अन्तरङ्ग संवाददाता

लमजुङ । लमजुङमा नयाँ वर्षको विदाका कारण दुई बालिकाको ज्यान गएको छ । सधैं स्कूल जाने उनीहरू सो दिन बिदा भएका कारण दिउँसो घाँस काट्नका लागि जंगल गएको बेलामा खोलाको रह(पोखरी)मा पौडी खेल्दा डुब्न गई निधन भएको प्रहरीले जनाएको छ । 

जिल्लाको उत्तरी क्षेत्रमा रहेको मस्र्याङदी गाउँपालिका– ३ थाकन गाउँकी १६ बर्षीया सिर्जना परियार र १३ बर्षीया नमुना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । सिर्जना महेन्द्रदेव मावि तराँचेमा कक्षा– ८ मा र नमूना स्थानीय बालोदय आधारभूत विद्यालयको कक्षा– ४ मा पढ्थिन् । ती दुवै बालिका बैशाख १ गते विदाको उपयोग गर्दै जंगलमा घाँस, दाउरा ल्याउन विहानको खाना खाएर हिडेका थिए । तर उनीहरू स्थानीय हाँगो खोलाको रहमा पौडी खेल्ने क्रममा डुबेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनु भयो । उहाँका अनुसार दिदी बहिनी नाताका उनीहरू नयाँ वर्षको दिन गाउँबाट करिव आधा घण्टाको पैदल दुरीमा रहेको हाँगो खोलामा पौडी खेल्दा डुबेका थिए । खोलाको किनारको रहमा पौडी खेल्दै गर्दा उनीहरूलाई रहको भुमरीले तानेको प्रत्यक्षदर्शी उनीहरूका साथी मुस्कान परियारले बताइन् । उनका अनुसार दुवैजना साथी डुबेपछि आफूले हल्लाखल्ला गर्दै गाउँलेलाई बोलाएको र स्थानीय ठूला मान्छेले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनसहितको २ जना टोली र खुदी प्रहरी चौकीका प्रहरी नायव निरीक्षक प्रेमप्रसाद शर्मासहितको ३ जनाको प्रहरी टोली घटनास्थलतर्फ गएका थिए । 

मृतक दुवैको शव खोलाबाट निकालेर राती राती पोष्टमार्टमका लागि जिल्ला अस्पताल लमजुङमा ल्याइएको प्रहरी भनाई छ । 

दुई बालिका डुबेको पोखरी करिव ७÷८ फिट गहिरो रहेको मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताउनु भयो । उहाँका अनुसार पोष्टमार्टमको काम ढिला हुने बुझेपछि आफू जिल्ला अस्पताल आएको र पोष्टमार्टम पछि परिवारलाई बुझाउने काम गरिएको छ । उहाँले भन्नुभयो, ‘सिर्जनाको शव दाजु मदन परियारले र नमूनाको शव उनकै दाजु सिमन परियारले बुझेर अन्तिम संस्कारका लागि गाउँतर्फ लगेका छन् ।’ उनीहरूलाई विदा गरेर म पालिकाको कार्यालयमा फर्केको हुँ उपाध्यक्ष विकले बताउनु भयो । 

सिर्जनाका दाजु मदन परियारले भन्नुभयो, ‘नयाँ वर्षको दिन बिदाको दिन नभएको भए उनीहरू स्कूल गएका हुन्थे, यस्तो अकल्पनीय अनिष्ठ घट्ना हुँदैनथ्यो ।’

No comments:

Post a Comment