गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाद्वारा लमजुङका बाढी पहिरो पीडित क्षेत्रको निरीक्षण, विस्थापितलाई व्यवस्थित गर्न २ महिना लाग्ने - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, July 16, 2020

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाद्वारा लमजुङका बाढी पहिरो पीडित क्षेत्रको निरीक्षण, विस्थापितलाई व्यवस्थित गर्न २ महिना लाग्ने


लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङका बाढी पहिरो पीडित क्षेत्रको निरीक्षण गर्नु भएको छ । बेसीशहर– ७ को पहिरो प्रभावित क्षेत्रको अवलोकन पछि जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले विस्थापितलाई व्यवस्थित गर्न २ महिना लाग्ने असार ३१ गते बताउनु भएको छ ।

उहाँले गण्डकी प्रदेशमा सबैभन्दा बढी म्याग्दी जिल्ला प्रभावित रहेको भन्दै त्यसपछि मानवीय क्षतिका हिसावले तनहूँ रहेको बताउनु भयो । उहाँले बाढी पहिरोले सडक ध्वस्त भएको हुँदा राहतका लागि खाद्यान्नको आपूर्ति असहज भएको छ । त्यस्तै, शुद्ध खानेपानीका लागि पनि समस्या देखिएको छ भन्नुभयो । उहाँले बाढी पहिरोमा परेर विस्थापित भएकाहरूको व्यवस्थापनका लागि दुई महिना लाग्ने बताउनुभयो । क्षतिको तथ्यांक संकलन पछि राहततर्फ लाग्ने उहाँले बताउनु भयो ।

अझै पनि हालको दैवी विपतको नोक्सानको एकिन तथ्यांक आउन नसकेको बताउँदै मुख्य मन्त्री गुरुङले हरेक जिल्लामा प्रजिअको नेतृत्वमा तथ्यांक संकलनको काम भइरहेको जानकारी दिनु भयो । लापरवाही र मापदण्डलाई ख्याल नगरी घर तथा भौतिक संरचना निर्माण गर्दा प्राकृतिक विपदबाट धेरै जनधनको क्षति भएको उहाँको कथन छ । त्यस्तो नीति प्रदेश सरकारले ल्याउने छ भन्नुभयो । यसका लागि भूउपयोग नीतिको आवश्यक रहेको र त्यसका लागि संघीय सरकारको ध्यानाकर्षण गरिएको र स्थानीयतहले त्यो कार्यान्वयन गर्नु पर्छ उहाँले भन्नुभयो ।

यसैगरी, उहाँले कोभिड– १९ बाट हामी मुक्त हुँदैछौं भन्नुभयो । विस्तारै क्वारेन्टाइन र आइसोलेसन खाली हुने अवस्था सिर्जना हुन लागेको छ । प्रदेश सरकारले यसको व्यवस्थापनमा सचेत रहेको हुँदा मानवीय क्षति कम भएको बताउनु भयो । उहाँले पोखरामा कोभिड– १९ को परीक्षण गर्न सक्ने १२ जना नयाँ टेक्निसियन तयार गरेको जानकारी दिदै ठूला आयोजना खासगरी कालोपत्रे गर्ने मजदुर भारतबाट ल्याउनु पर्ने स्थिति रहेको, भारतमा ऐले पनि संक्रमण बढीरहेको हुँदा विकासका काममा बाधा परेको उल्लेख गर्नु भयो ।

यातायात र विद्यालय खोल्नु पर्छ भन्ने भए पनि तत्काल त्यो सम्भवन छैन मुख्यमन्त्रीले भन्नुभयो । क्वारेन्टाइनमा बसेका लागि दैनिक ५ सय दिने भनेको भत्ता नभई त्यहाँ बस्नेहरूको दैनिक आवश्यकता त्यस रकमले पुरा हुन्छ होला भन्ने अनुमान गरेर त्यो दिने भनिएको हो । हामीले सोही अनुसारको व्यवस्थापन गरिआएकाछौं मुख्यमन्त्री गुरुङले भन्नुभयो । उहाँले कोभिड– १९ नियन्त्रणका लागि प्रदेश सरकारबाट १ करोड ५३ लाख खर्च भएको जानकारी दिनु भयो ।

अर्को एक प्रसङ्गमा मुख्यमन्त्री गुरुङले आफूले मन्त्रीहरूलाई मनोनित गर्दा नै २ वर्षका लागि भनेर गरेको हुँ भन्दै प्रदेशस्तरमा संघले निर्धाराण गरेको मन्त्रालयको संरचनामा चित्त नबुझेको बताउनु भयो । आन्तरिक मामिला मन्त्रालय मुख्यमन्त्री अन्तरगत हुनुपर्ने थियो । त्यसैगरी अन्य केही मन्त्रालयमा पनि लोड बढी भएको हुँदा काममा बाधा परेको हुँदा केही मन्त्रालय थप गर्नु पर्ने अनुभव भएको छ उहाँले भन्नु भयो । मन्त्री बन्नका लागि म आफू, सभामुख र उपसभामुख बाहेक सबै सांसद योग्य र आकांक्षी रहेको उहाँको भनाई थियो ।
यसअघि मुख्यमन्त्री गुरुङले बेसीशहर नगरपालिका– ७ को सातबीसेमा पहिरोले पुरिएर निधन भएका दिपक तामाङको परिवारलाई भेट गर्नु भई जनही ५० हजारका दरले प्रदेश सरकारकातर्फबाट राहत प्रदान गर्नु भयो ।

त्यसपछि उहाँले मध्यनेपालमा भएको बाढी पहिरोको निरीक्षण गर्नु भई आजै पोखरा प्रस्थान गर्नु भयो । भोर्लेटारमा गएर ईशानेश्वर माविमा राखिएका विस्थापित परिवारलाई भेटघाट गर्नु भई वस्तुस्थिति बुझ्नु भयो । साथै विमिरेपानीका क्षतिग्रस्त १९ घरको पनि निरीक्षण गर्नु भएको मध्यनेपाल नगरपालिका– ६ का अध्यक्ष विष्णुभक्त पौडेलले बताउनु भयो । उहाँका अनुसार पुरानडिहीका बासिन्दाले पनि आफ्नो गाउँको निरीक्षण गरिदिन मुख्यमन्त्रीसँग माग गरेका थिए । तर बाढी र पहिरोले सडकको नाम निसान नराखेको कारणले गर्दा उहाँ त्यसतर्फ जान सक्नु भएन ।

उहाँको साथमा गण्डकी प्रदेश सभामा नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारी, सांसदद्वय धनञ्जय दवाडी र मधु अधिकारी, मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डे, प्रजिअ कृष्णप्रसाद शर्मा, प्रनाउ गंगाबहादुर थापा सहितको टोली थियो ।

No comments:

Post a Comment