नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
.......................
गाउँछ गीत नेपाली ज्योतिको पङ्खा उचाली
जय जय जय नेपाल सुन्दर, शान्त, विशाल
......................
यस्ता कैयौँ देशभक्तिका भावले ओतप्रोत भएका कालजयी गीतका स्रष्टा राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको हो ।
सय वर्षको उमेरमा पनि सक्रिय जीवन बाच्नु भएका राष्ट्रकवि पछिल्ला दुई महिनादेखि केही अशक्त भएका थिए । उपचारका लागि अस्पताल लग्नु भन्दा अस्पतालको जस्तै सुविधायुक्त रुपमा उहाँलाई घरमा नै राखिएको थियो । बुढ्यौलीका कारणले हुन सक्छ पछिल्ला दिनमा उनमा विस्मृतिपन बढेर गएको थियो ।
![]() |
| राष्ट्रकविका साथमा पङ्क्तिकार पहाडी |
शास्त्रीय छन्द कविताका पितामह राष्ट्रकवि घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख, प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरूमा सिर्जना दिँदै आएका थिए ।
पिता गौरीशंकर र माता द्रौपदीदेवी घिमिरेको पुत्ररत्नका रूपमा जन्मिएका राष्ट्रकविले तीन वर्षको उमेरमै मातृ वियोगको पीडा खेपेका थिए । त्यस्तै २००४ सालको असारमा घिमिरेले धर्मपत्नी(गौरी) वियोगको पीडा सहन गर्नु पर्यो । उनले गौरीकै नाममा शोक काव्य लेखे र त्यही काव्यले उनको व्यक्तित्वलाई राष्ट्रियस्तरमा उजिल्याउने काम गर्यो ।
१३–१४ वर्षमै कविता लेख्न सुरु गरेका घिमिरे नेपाली साहित्यमा देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छन् । उनका रचनामा लोकलयको मिठो संयोजन पाइन्छ । पूर्वीय, आदर्श र मर्यादा अन्तर्गत रही कविता काव्य सिर्जना गर्ने माधव घिमिरे मानवताका पनि कवि हुन् भन्न फरक परोइन ।
रानीपोखरी तीनधारा संस्कृत पाठशालाबाट औपचारिक शिक्षा प्रारम्भ गरेका उनले बनारसको क्विन्स कलेजबाट सर्वदर्शनमा शास्त्रीसम्मको अध्ययन गरेका थिए । घिमिरेका कविता, गीतमा सिंगो देशको माटो बोल्छ । लोकसंस्कृति बोल्छ । जनजनका भोगाई बोल्ने गर्छ ।
भाषानुवाद परिषदबाट जागीरे जीवन शुरु गरेका घिमिरे लमजुङमा जेठा गुरुको रुपमा परिचित उनी लमजुङको तत्कालीन लमजुङ हाईस्कुलको संस्थापक प्रधानाध्यापक पनि हुन् । गोरखापत्रको सहायक सम्पादक थिए । २०१४ सालमा प्रज्ञाप्रतिष्ठानको सदस्य रहेका उनी प्रतिष्ठानको कुलपतिसम्म बने । उनी प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य थिए ।
उनलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ‘छन्द शिरोमणि’को उपाधिबाट अभिनन्दन गरेका थिए । त्यसको तीन दिनपछि अर्थात १० गते उनलाई ‘राष्ट्रकवि’को रूपमा अभिनन्दन गरिएको थियो । त्यस समयमा उनलाई सो उपाधि दिनका लागि सरकारलाई दबाब दिन उनको गृह जिल्ला लमजुङ सहितका विभिन्न जिल्लामा रथारोहण समेत गराइएको थियो । त्यसअघि उनले साझा पुरस्कार, त्रिभुवन प्रज्ञा पुरस्कार, भूपालमान सिंह कार्की प्रज्ञा पुरस्कार, आदिकवि भानुभक्त पुरस्कार जस्ता २ दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका थिए । उनको योगदानको कदर गर्दै राज्यले विभिन्न सुविधा दिएको थियो ।
१३–१४ वर्षमै कविता लेख्न सुरु गरेका घिमिरे नेपाली साहित्यमा देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छन् । उनका रचनामा लोकलयको मिठो संयोजन पाइन्छ । पूर्वीय, आदर्श र मर्यादा अन्तर्गत रही कविता काव्य सिर्जना गर्ने माधव घिमिरे मानवताका पनि कवि हुन् भन्न फरक परोइन । १९९४ सालमा छापिएको नवमञ्जरी कविता संग्रह घिमिरेको पहिलो कृति हो । गद्य र पद्य दुवै विधामा कलम चलाएका घिमिरेका गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीतसंग्रह), शकुन्तला, विषकन्या, अश्वत्थामा, देउकी, बालकुमारी, बोराको पर्दा तथा बाल कवितामा घामपानी (२०१०) बाललहरी (२०२६) राहुल यशोधरा (२०३५) सुनपंखी चरी (२०३५) आदि छन् । पत्नी गौरीको शोकमा लेखिएको गौरी (२००५) शोककाव्य उनको चर्चित रचना हो । उनका झण्डै २ दर्जन साहित्यिक कृति प्रकाशित छन् । तर उहाँले बुढ्यौलीले छोएपछि थालनी गर्नु भएको महाकाव्य ‘ऋतम्भरा’ भने अधुरै रहेको छ । त्यसको अन्तिम सर्गको लेखन बाँकी छदै उनको दुःखद निधन भएको छ । उनको निधनसँगै नेपाली लोकसंस्कृति, कला साहित्यको एक युग समाप्त भएको छ । नेपाली कलाकर्मी तथा साहित्यकारहरूले एक कुशल अभिभावक गुमाएका छन् ।
लमजुङको मर्स्याङदी गाउँपालिका– ६ को भिरपुस्तन गाउँमा विक्रम सम्वत् १९७६ असोज ७ गते जन्म भएको थियो । लमजुङको विकट गाउँमा जन्मे । खर्कका गोठहरूमा बसे । गोठालो बने । वनपाखा चहार्दै हुर्केका घिमिरेले कला, साहित्यको माध्यमबाट उनले लमजुङसँगै देशको शीरलाई उचो बनाएका थिए । उनका श्रीमती, छ जना छोरी र दुई जना छोरा छन् ।
१०२ वर्ष पुग्न ३५ दिन बाँकी रहँदा उनी यो संसारबाट विदा भएका छन् । तर पनि उनी आम नेपाली तथा नेपाली भाषीहरूका मनमनमा युगौंसम्म बाँचिरहने छन् । स्वर्गीय राष्ट्रकविमा हाम्रो पनि भावपूर्ण श्रद्धाञ्जली !

No comments:
Post a Comment