अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट संक्रमित हुने संख्या आज एक अंकमा झरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार आज असार ३१ गते ४ जनामा संक्रमण पुष्टि भएको हो । आज निधन छैन भने एक अंकमा झरेको दोस्रो कम संक्रमित फेला परेको दिन हो ।
नयाँ संक्रमित थप भएसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या दुई हजार ११३ पुगेको छ । हालसम्म जिल्लामा कोरोना जित्नेको संख्या एक हजार ८६५ मा विगत ३ दिनदेखि स्थिर रहेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या २१४ पुगेको छ भने ३४ जनाको दुःखद निधन भएको छ ।
आजका संक्रमितहरू जिल्लाका दुई नगरपालिकामा मात्र संक्रमित पुष्टि भएको हो । आज सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका र क्ब्होलासोथर गाउँपालिकामा संक्रमित फेला परेका छैनन् ।
बेसीशहर नगरपालिका– ७ का २८ वर्षीया महिला तथा राइनास नगरपालिका– ४ का ५९ वर्षका पुरुषमा तथा वडानं– ७ का २३ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको छ । यसैगरी, तनहूँको भानु नगरपालिकामा स्थायी बसोबास भई लमजुङ बस्ने ४४ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार आज कोरोनाका कारण कसैको पनि निधन भएको छैन ।
स्मरणीय छ, आज कोरोना संक्रमित एक अंकमा झरेका आठौं दिन हो । यसअघि एक अंकमा सबैभन्दा कम असार १२ गतेका दिन ३ जनामा संक्रमण पुष्टि भएको थियो । आज ४ जनामा संक्रमण पुष्टि हुन आएको छ । त्यस बाहेक एक अंकमा संक्रमित फेला परेका अन्य दिनहरूमा असार २९ गते ७ जनामा, असार २७ र २६ गते ७ जनामा संक्रमण पुष्टि भएको थियो । यसअघि एक अंकमा संक्रमित पुष्टि भएको दिनमा असार १५ गते ९ जना, १४ गतेका दिनमा ६ जना, त्यस्तै, असार ३ गते जिल्लामा पहिलो पटक संक्रमित संख्या एक अंकमा झरेर ८ जनामा पुष्टि भएको थियो ।

No comments:
Post a Comment